
पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्न कांग्रेसले भोलि गणतन्त्र पक्षधर राजनीतिक दलहरूको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार आइतबार साँझ सभापति देउवा निवास बुढानीलकण्ठमा सरकारमा रहेका र प्रतिपक्षमा रहेका गणतन्त्र पक्षधर सबै दलको बैठक बोलाउने निर्णय भएको छ।
बैठकमा सभापति देउवाले शुक्रबार तीनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका थिए। कतिपय नेताले पूर्वराजा शाहलाई राज्यले दिएको सुविधा खोस्नुपर्ने र पासपोर्ट रद्द गर्नुपर्ने सुझाब दिएका थिए। गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे बैठकमा ब्रिफिङ गरेको घिमिरेले बताए ।