
राप्रपाले शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणा एवं अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहाइ गर्न सरकारलाई अल्टिमेटम दिएको छ। उनीहरू उक्त घटनामा संलग्न नरहेको निष्कर्षसहित राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले रिहाइको माग गरेको हो । घटनाको निष्पक्ष एवं न्यायिक छानबिन गर्न राप्रपाले माग गरेको छ।
शनिबार राप्रपा अध्यक्ष लिङ्देन तथा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका नेताहरूलाई भेटेका थिए । पार्टी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी पार्टीका नेताहरूलाई पक्राउ गरेर फसाउने योजना सरकारले बनाएको छ। उनीहरूलाई २४ घण्टाभित्र विनासर्त रिहाइ गरियोस्। यदि रिहा भएन भने देशैभरि विरोध प्रदर्शन गर्नेछौँ।’ प्रहरीलाई भड्काउने कार्यमा पार्टी नेताहरू संलग्न नभएको, तर घटना सरकारका कारण भएको जिकिर गरे। अध्यक्ष लिङ्देनले पूर्वपञ्च नेता नवराज सुवेदीलाई नजरबन्द राखिएको विषयमा भने बोलेनन्। उनले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्नेमा आफ्ना नेताहरू पक्राउ भएको संकेत गरे। उनले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न र दोषी भेटिए आफ्नै पार्टीका कार्यकर्ता नेतामाथि कारबाही गर्न आग्रह गरे।
अध्यक्ष लिङ्देनले राप्रपा हिंसात्मक क्रियाकलापको विपक्षमा रहेको र हरेक कार्यक्रम हिंसारहित हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको पनि बताए। तीनकुनेको घटनामा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको राप्रपाले ठहर गरेको छ। ‘बिहीबार प्रधानमन्त्रीले युवा संघका कार्यकर्तालाई आन्दोलनविरुद्ध जाइलाग्न निर्देशन दिनुभयो । भोलिपल्ट शान्तिपूर्ण कार्यक्रम भइरहेका वेला तीनकुनेमा सुनियोजित रूपमा टियर ग्यास प्रहार भयो। सरकारले कार्यक्रम बिथोल्न चाहेको थियो भन्ने यी घटनाबाट स्पष्ट हुन्छ,’ अध्यक्ष लिङ्देनले भने। उनले थपे, ‘घटना जहाँ भएको छ, जसले प्रहरीलाई भड्काउन खोजेको छ, उसलाई पक्राउ नगर्ने, तर शान्तिपूर्ण रूपमा आन्दोलनमा रहेकाहरूलाई पक्राउ गर्ने कार्यको हामी विरोध गर्छौँ।’
अर्को सन्दर्भमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा तान्ने प्रयास नगर्न आग्रह गरे। बिहीबार निधन भएका दुवैजनालाई सहिद घोषणा गर्न उनले माग गरे। उनले न्यायिक छानबिन गठन गर्न र हिंसा भड्काउन उद्धत देखिएकाहरूलाई कारबाही गर्न माग गरे। अर्को प्रश्नमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर कारबावाही गर्न सरकारलाई चुनौती दिए। ‘पक्राउ गरेर देखावस् न त, हामी चुनौती दिन्छौँ,’ उनले भने।