मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १६ शनिबार १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डको दाबी- राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार १७:१९:oo

काठमाडौं प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको षड्यन्त्रलाई समाजवादी मोर्चाले असफल बनाएको दाबी गरेका छन्।

आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चाले ठुलो जनसमुदायबिच विरोधसभा नगरेको भए राजावादीहरूले गम्भीर आपराधिक घटनाहरू निम्त्याउने योजना बनाएको सूचना आफूले प्राप्त गरेको बताएका छन् ।

उनले राजावादीहरूलाई आततायी र विवेकशून्य तत्वको संज्ञा दिँदै विगतमा निरंकुश राजतन्त्र सत्तामा रहँदा प्रेसमाथि अंकुश लगाउने गरेको र अहिले पनि उनीहरूको आक्रमणको निशाना प्रेस नै बनेको जिकिर गरे। सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्वहरूबाट सचेत रहनुपर्ने उनको भनाइ थियो।

उनले भने, 'निरंकुश राजावादी तत्वहरूले तीनकुनेमा आततायी र विवेकशून्य आपराधिक घटनाहरू घटाउने तयारी गरेका थिए। नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पश्चगमन फेरि एकपटक नयाँ सन्दर्भमा टकराइरहेका थिए। आज बिहान धेरैले मलाई सम्पर्क गरेर भनेका छन्- तीनकुनेका जनताले देशभर हजारौँको संख्यामा जनता नउभ्याएको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता देखाउन नसकेको भए ठुला घटनाहरू घटाएर प्रतिक्रान्तिलाई चरममा पुर्‍याउने षड्यन्त्र थियो। धेरैको ज्यान बच्यो, धनजनको क्षति हुनबाट जोगियो। दुईजनाको ज्यान गयो, थुप्रै गाडी र घरहरू जलाइए, संघसंस्था र पार्टीका कार्यालयहरूमा आगजनी भयो।’

अध्यक्ष प्रचण्डले गणतन्त्रवादी दलहरूले लोकतन्त्रप्रतिको प्रतिबद्धता र संकल्प स्थापित गर्न ठुलो संख्यामा जनसमुदायबिच विरोधसभा गरेर उदाहरण प्रस्तुत गरेको बताए। गणतन्त्रमाथि प्रहार भइरहेका वेला सरकारमा रहेका दलहरूले आफ्ना क्रियाकलाप सच्याएर गणतन्त्रलाई बलियो बनाउन लाग्नुपर्ने उनले जोड दिए।