मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
नवराज मैनाली काठमाडाैं
कमलराज भट्ट काठमाडाैं
२o८१ चैत १६ शनिबार o६:३२:oo
Read Time : > 9 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिंसात्मक बन्यो राजावादी आन्दोलन

दुई युवाले अनाहकमा गुमाए ज्यान, ठाउँठाउँमा आगजनी र लुटपाट

Read Time : > 9 मिनेट
नवराज मैनाली, काठमाडाैं
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार o६:३२:oo

राजावादीहरूले शुक्रबार काठमाडौंमा गरेको आन्दोलन हिंसात्मक हुँदा दुई युवाले अनाहकमा ज्यान गुमाएका छन् । प्रदर्शनकारीले निजी घर, व्यावसायिक भवन, दलका कार्यालयदेखि सवारीसाधनसम्ममा तोडफोड र आगजनी गरेका छन् । कतिपय ठाउँमा लुटपाट पनि भएको छ । 

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका तर्फबाट व्यवसायी दुर्गा प्रसाईंको कमान्डमा तीनकुनेमा भएको प्रदर्शन सुरुदेखि नै हिंसात्मक बनेको थियो । आन्दोलनको भिडियो खिचिरहेको भवनमै प्रदर्शनकारीले आगो लगाउँदा रिपोर्टिङमा रहेका पत्रकार सुरेश रजकले ज्यान गुमाएका छन् भने प्रहरीको गोलीबाट कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । 

दुई पक्षबिच भएको झडपमा ३५ जना प्रदर्शनकारी घाइते छन् । उनीहरूमध्ये केहीलाई गोली लागेको छ । त्यस्तै, ५३ जना नेपाल प्रहरी र सशस्त्रतर्फ २२ जना घाइते भएका छन् । तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै आन्दोलनकारीले तोडफोड सुरु गरेका थिए । तीनकुनेको सडकछेउमा रहेको मार्बल हाउस भवनमा तोडफोडसँगै हिंसा सुरु भएको थियो । यो भवनबाट प्रहरीले अश्रुग्यास हानेको भन्दै आन्दोलनकारीले निसाना बनाएका थिए । पछि आगोसमेत लगाए । आगो निभाउन गएको दमकलसमेत तोडफोड गरिएको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले बताए । त्यसपछि एकीकृत समाजवादीको पार्टी कार्यालयदेखि जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीसम्म पुगेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । प्रदर्शनकारीले नेताहरूविरुद्ध उग्र नारा लगाउँदै प्रहरीमाथि ढुंगा प्रहार गरिरहे । ठाउँठाउँमा झडप भयो । 

विभिन्न स्थानमा निजी र सरकारी गाडीमा आगजनी गर्दै अघि बढेका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको भवनमै आगजनी गरेका थिए । त्यहाँ पार्किङमा रहेका एक दर्जन गाडी पनि जलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले अपराह्नदेखि कोटेश्वर, तीनकुने, जडीबुटी, बालकुमारी, गौशाला, सिनामंगल, पुरानो बानेश्वरलगायत क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको थियो । आदेश शनिबार बिहान ७ बजेसम्मका लागि कायम गरिएको छ । 

सुरुदेखि नै हिंसात्मक बनाइयो प्रदर्शन 
प्रहरी अधिकारीका अनुसार सुनियोजित रूपमै शुक्रबारको आन्दोलनलाई हिंसात्मक बनाउने उद्देश्य देखिन्छ । सुरुमै दुर्गा प्रसाईंले आफैँ गाडी चलाएर प्रहरीलाई समेत धकल्दै निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । प्रहरीलाई नै उनले किच्ने प्रयास गरेको गृह मन्त्रालयका सहसचिव छवि रिजालले बताए । 

‘प्रहरीलाई बल प्रयोग गर्न उनले उत्तेजित बनाएका थिए,’ तीनकुनेमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘त्यतिवेला प्रहरी संयम बनेपछि ढुंगा हान्न लगाएर हिंसा र तोडफोड सुरु गराए ।’ प्रसाईं मात्र होइन कार्यक्रममा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा तथा राजतन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाललगायतले आन्दोलनलाई उग्र हुन निर्देशन दिएको प्रहरी अधिकारीहरू बताउँछन् । झडप भएपछि समितिका संयोजक नवराज सुवेदीलगायत नेताहरू बाहिरएका थिए । 

पछि आगजनी र तोडफोड चर्किंदै गयो । त्यसपछि दुर्गा प्रसाईं त्यहाँबाट बाहिरिएका थिए । अनियन्त्रित भिडले विभिन्न ठाउँमा तोडफोड र आगजनी गर्‍यो । जनशक्ति पनि न्यून हुँदा प्रहरीले उनीहरूका गतिविधि नियन्त्रण गर्न सकेन । गृह मन्त्रालयको आकलनअनुसार सो आन्दोलनमा करिब चार हजारको भिड जम्मा भएको थियो । 

नेताहरूकै घरमै आगजनीको सम्भावना देखिएपछि सेनालाई समेत आन्दोलनस्थलमा खटाइएको थियो । प्रहरीलाई सघाउन सेना खटिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । 

१४ ठाउँमा आगजनी, नौ ठाउँमा तोडफोड
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आन्दोलनकारीले १४ ठाउँमा आगजनी, नौ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट गरेका छन् । 

मार्बल हाउस, एकीकृत समाजवादीको पार्टी कार्यालय, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, कर्पाेरेट टावर तीनकुने, विमानस्थलको कार्गाे क्षेत्र, कोटेश्वर महादेवस्थान, कोटेश्वर गणेशस्थान, भाटभटेनीअगाडि सरकारी गाडी, बालकुमारीबाट काठमाडौं आउने करिडोरमा निजी गाडी, बानेश्वर पुलपारि, एयरपोर्टको फोहोर फाल्ने क्षेत्र, सिनामंगलस्थित इन्द्रेणी सहकारी रहेको भवन, रोयल रेस्टुरेन्ट र सिनामंगलकै एरोम्याक्स रहेको भवनमा आगजनी गरिएको छ । 

त्यस्तै, अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर टेलिभिजन, केएमसी अस्पताल सिनमंगल, सिनामंगलस्थित नेपाल प्रहरीको सिसिक्यामेरा, भत्केको पुलस्थित प्रहरी बिट, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड भएको छ । 

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भने तोडफोडसँगै लुटपाटसमेत भएको छ । एकैपटक छिरेको अराजक समूहले भाटभटेनीमा लुटपाट मच्चाएको थियो । आन्दोलनमा नौवटा सरकारीसहित १५ वटा सवारीसाधन तोडफोड तथा आगजनी भएको काठमाडौं परिसरका एसपी बोहराले बताए । 

सभा सुरु नहुँदै सुरु भयो झडप 
राजावादीले तीनकुनेमा गर्ने भनिएको सभामा सहभागी हुन पौने १ बजेतिर राप्रपा नेताहरू डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा, रवीन्द्र मिश्र र विक्रम पाण्डे तीनकुने पुगेका थिए । लगत्तै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक पूर्वपञ्चनेता नवराज सुवेदी पनि तीनकुने पुगेका थिए । 

प्रदर्शनको कमान्डर बनेका व्यवसायी दुर्गा प्रसाईं आफैँ गाडी हाँकेर प्रहरीको घेरा तोड्न अघि बढेका थिए । उनले प्रहरीको घेरा जबर्जस्ती तोडेका मात्र थिएनन्, प्रहरीलाई गालीगलौजसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यहीबिचमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि सभामा पुगेका नेताहरू तितरबितर भए । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको घेरा तोड्न प्रसाईं र राप्रपा नेता मिश्रले सहभागीलाई उक्साएका थिए । त्यसक्रममा प्रहरीसँग पटक–पटक झडप भएको थियो । 

‘सभामा नेताहरू आइपुगेको मञ्चबाट घोषणा भयो । त्यही वेला टियर ग्यास प्रहार भएपछि मञ्चमा पुगेका नेताहरू निस्कनुपर्‍यो,’ सभाकै छेउछाउमा रहेका राप्रपा नेता सगुन लावतीले भने, ‘त्यसपछि सभा भएन, झडप सुरु भयो ।’ 

जनआन्दोलन समितिका संयोजक सुवेदीले आफूहरूलाई सुरुदेखि नै प्रहरीले थिचोमिचो गरेको भन्दै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । शुक्रबार साँझ जारी भिडियो सन्देशमा सुवेदीले घटनाप्रति आफूलाई पश्चात्ताप लागेको, तर सरकारले जिम्मा लिनुपर्ने बताए । ‘हाम्रो ज्यादती केही छैन । सुरुदेखि नै हामीलाई इरिटेट गर्न खोजियो, त्यसबाट असहज परिस्थिति आएको हो,’ उनले भने, ‘घटनाको म पश्चात्ताप गर्छु । तर, घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ ।’

आन्दोलनको स्वामित्व लिएका सुवेदीले घटनाको जिम्मा लिएनन् । प्रसाईंले पनि घटनाको जिम्मेवारी लिएनन् । ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौँ, हामी त शान्तिपूर्ण रूपमा सभा, आन्दोलन र घोषणासभामा सहभागी हुन गएका थियौँ, दमन किन ?’ प्रसाईंले शुक्रबार साँझ सामाजिक सञ्जालमा भने, ‘जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनका कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्नेछ ।’ उनीहरू नपुग्दै सरकारले अश्रुग्यास प्रहार गरेको प्रसाईंको आरोप छ । प्रशासनले भने परिस्थितिलाई प्रसाईंले उत्तेजित पारेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष लिङ्देन विपक्षमा, राप्रपामा स्पष्ट मतभेद
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार आन्दोलनका नाममा भएका झडप र हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सरकार र प्रदर्शनकारीलाई संयम अपनाउन अपिल गरेका छन् । राप्रपा हिंसाको पक्षमा नभएको समेत स्पष्ट पारेका छन् । उनी प्रदर्शनमा सहभागी भएनन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी भएनन् । 

लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको आन्दोलन पार्टीकै नेतृत्वमा हुनुपर्नेमा जोड दिँदै आएका थिए । तर, यो एजेन्डामा हुने सबै आन्दोलनलाई नैतिक समर्थन गर्ने उनको भनाइ थियो । पूर्वराजा ज्ञानेन्द्रले नवराज सुवेदी नेतृत्वमा आन्दोलन समिति गठन गरेपछि र त्यसमा पार्टी निर्णयविपरीत नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्र बसेपछि लिङ्देन असन्तुष्ट रहँदै आएका छन् । राप्रपालाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुनेमा उनले पार्टीभित्र जोड दिँदै आएका छन् ।

लिङ्देनले शुक्रबारको घटनाबारे विस्तृतमा बोल्न मानेनन् । ‘राप्रपा हिंसाको पक्षमा छैन । आन्दोलनका क्रममा भएका घटनामा राप्रपा दुःख व्यक्त गर्दछ । सरकार र प्रदर्शनकारी दुवैलाई संयम अपनाउन अपिल गर्दछु,’ लिङ्देनले संक्षिप्त प्रतिक्रियामा नयाँ पत्रिकासँग भने, ‘संवादमार्फत राजनीतिक मुद्दाको निकासका लागि अघि बढ्न सरकारसँग माग गर्दछु ।’

सुरक्षा घेरा तोड्न उक्साएर आन्दोलन अराजक बनाउने प्रसाईं फरार, मिश्र र राणा पक्राउ
प्रदर्शनकारीलाई उक्साएर आन्दोलन हिंसात्मक बनाएको आरोपमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरूलाई घरबाटै पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

त्यस्तै, आन्दोलनको कमान्डर घोषणा गरिएका व्यवसायी दुर्गा प्रसाईं फरार छन् । तर, राति अबेरसम्म उनले सामाजिक सञ्जालमा भने अपडेट गरिरहेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी वृद्ध भएका कारण घरमै नजरबन्दमा राखिएको छ ।

समितिका प्रवक्ता स्वागत नेपाललाई पनि पुतलीसडकबाट पक्राउ गरिएको छ । तोडफोड र आगजनीमा संलग्न प्रदर्शनकारी र नेतासहित शुक्रबार रातिसम्म ५५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कहाँ चुक्यो सुरक्षा निकाय ? 

दुर्गा प्रसाईंसहितका राजावादी नेताहरूको आन्दोलन भड्काउने तयारीबारे सुरक्षा निकायलाई पूर्वसूचना नभएको होइन । उनीहरूको योजना थाहा पाएरै प्रहरीले सुरुमा सकेसम्म बल प्रयोग नगर्ने नीति बनाएको थियो । गृह मन्त्रालयले नै अन्तिम अवस्थामा मात्र गोली चलाउन निर्देशन दिएको थियो । तर, प्रहरीले बल प्रयोग गर्ने वेलासम्म आन्दोलन यति भड्कियो कि अवस्था नियन्त्रणबाहिर पुग्यो । 

निजी घर र व्यावसायिक भवन, दलको कार्यालय, सरकारी र निजी सवारीसाधन मात्र होइन, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा प्रर्शनकारीले तोडफोड गर्दै आगो लगाउँदासम्म प्रहरीको उपस्थिति देखिएन । कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट मच्चिएको थियो । खबर गरेको ४५ मिनेटसम्म प्रहरी नपुगेको त्यहाँका कर्मचारीले बताएका छन् । अवस्था कस्तोसम्म आयो भने कतिपय स्थानमा खटिएका प्रहरी आफैँ असुरक्षित महसुस गरिरहेका थिए । कोटेश्वरकै प्रहरी कार्यालयमा तोडफोड हुँदा पनि प्रहरी निरीह देखियो ।

रक्षात्मक बन्ने नाममा समयमा बल प्रयोग नगर्दा नै यस्तो अवस्था आएको प्रहरी स्रोत बताउँछ । ‘कोही आन्दोलनकारीको मृत्यु भयो भने अवस्था भड्किन सक्छ भनेर गृह मन्त्रालयले बल प्रयोग नगर्न दबाब दिएको थियो,’ प्रहरी स्रोत भन्छ, ‘त्यसको फाइदा प्रदर्शनकारीले उठाए, यति उग्र भए कि नियन्त्रणमै लिन सकिएन ।’ 

प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न नदिँदाको परिणाम शुक्रबारको घटना भएको एक पूर्वप्रहरी अधिकारीले बताए । ‘विगतमा भिड नियन्त्रणमा बल प्रयोग गर्‍यो भनेर कतिपयलाई कारबाही गरिएको छ,’ उनले भने, ‘त्यसकारण अहिले बरु देश जलोस्, आफ्नो करिअर जोगाउनेतर्फ प्रहरी अधिकारी लागेको देखिन्छ ।’ असल नियतले बल प्रयोग गर्दा पनि विगतमा नेतृत्वले संरक्षण नगर्दा प्रहरीको मनोबल खस्किएको छ । पूर्वएआइजी उत्तमराज सुवेदीले स्रोत–साधनको अभावदेखि खस्किएको मनोबलका कारण भिड नियन्त्रणमा प्रहरीको कमजोरी देखिएको बताए ।  

गृह मन्त्रालयका सहसचिव छवि रिजालले साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी आन्दोलन हिंसात्मक हुन सक्ने भनेर आकलन गरिएको, तर यस्तो जघन्य किमिसका गतिविधि गर्छन् भनेर अनुमान नगरिएको बताए । 

निसानामा पत्रकार र सञ्चार गृह 

सुरेश रजक

लाइभ रिपोर्टिङ गर्दागर्दै जलेर ज्यान गुमाए सुरेश रजकले, आज माइतीघरमा पत्रकार महासंघको विरोधसभा  

राजसंस्थाको पुनर्स्थापनाका लागि आन्दोलनमा उत्रिएका राजावादी प्रदर्शनकारीको निसानामा पत्रकार र सञ्चार गृह पनि परेका छन् । 

व्यवसायी दुर्गा प्रसाई नेतृत्वमा आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ । आन्दोलनको भिडियो खिचिरहेको तीनकुनेस्थित मार्बल हाउसमा प्रदर्शनकारीले आगो लगाएपछि उनको मृत्यु भएको हो । आगो सल्किने वेलासम्म उनी लाइभ गरिरहेका थिए । भवनमा आगो दन्किएपछि सशस्त्र प्रहरी बलको दमकल पुगे पनि चालकलाई लक्षित गरी ढुंगा प्रहार भएको थियो । दमकल फर्कियो । र, रजकको भवनभित्रै जिउँदै जलेर ज्यान गयो ।

एभिन्युज टेलिभिजनका सञ्चालक भास्करराज राजकर्णिकारले आगलागी भएको भवनभित्र पत्रकार रजक फसेको जानकारी प्रहरी प्रशासनलाई गराइए पनि समयमै उद्धार हुन नसक्दा ज्यान गएको बताए । सशस्त्र प्रहरीले भवनभित्र कोही नरहेको बताउँदै आफूहरूलाई पनि जान नदिएको बताउँदै उनले भने, ‘हामी सहकर्मी जलेको लाइभ गरिरह्यौँ, केही गर्न सकेनौँ ।’

त्यस्तै, प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीको हतियार खोसिरहेको तस्बिर खिचेका अनलाइन खबरका पत्रकार दिनेश गौतमलाई आन्दोलनकारीले फोटो किन खिचेको भन्दै कुटपिट गरेका छन् । कुटपिटबाट गौतमको बायाँ खुट्टा भाँचिएपछि उनको उपचार भइरहेको छ । आक्रमणमा परी फोटोपत्रकार राजु थापा पनि घाइते भएका छन् । 

आन्दोलनकारीले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा प्रहार हुनुका साथै आगजनीको प्रयास पनि गरेका थिए । हिमालय टेलिभिजनको गाडी पनि तोडफोड गरेका छन् ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीको ज्यानै जाने गरी हमला हुनु आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य बताएका छन् । महासंघले आन्दोलनका नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार नहुने भन्दै संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ । साथै, क्षति पुर्‍याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रहसमेत गरेको छ । महासंघले पत्रकार जलेर मृत्यु भएको प्रकरणको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको छ । 

त्यस्तै, प्रेस चौतारी नेपालले घटनाको भर्त्सना गर्दै संलग्न दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । समाजवादी प्रेस संगठनले प्रेस स्वतन्त्रता विरोधी हर्कतको निन्दा गर्दै दोषीलाई कडा कारबाही र पत्रकारको प्रभावकारी सुरक्षा प्रबन्ध गर्न माग गरेको छ । 

संसदीय मामिला पत्रकार समाजले पनि सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । 

फोटो पत्रकार क्लबले पनि विज्ञप्ति जारी गरी सञ्चारकर्मी र सञ्चार गृहमाथि भएको आक्रमण निन्दा गरेको छ । सञ्चारकर्मी र सञ्चारगृहमाथि आक्रमण गर्नेहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई राहत उपलब्ध गराउन माग गरेको छ । 

स्थापना दिवस प्रभावित
पत्रकार महासंघले स्थापना दिवसका अवसरमा शनिबारका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । स्थापना दिवसलाई पत्रकारको ज्यान लिनेगरी भएको घटना र सञ्चार गृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिले शनिबार बिहान ८ बजे माइतीघर मण्डलामा भेला भएर पत्रकारको ज्यान जानेगरी भएको घटना र सञ्चारमाध्यममाथि भएको ज्यादतीविरुद्ध विरोधसभा गर्ने महासचिव रामप्रसाद दाहालले बताए । 

हिंसात्मक घटनाको छानबिन गर्ने सरकारको निर्णय 
सरकारले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बालुवाटारमा शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले ‘घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस किसिमका घटना हुन नदिन व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने’ निर्णय गरेको हो । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले अराजक गतिविधिमा संलग्न नहुन आमनागरिकमा सरकारले अपिल गरेको पनि बताए ।

मानव अधिकार आयोगले भन्यो– हिंसात्मक गतिविधि बन्द गर
राष्ट्रिय मानव अधिकार आयोगले हिंसात्मक गतिविधि बन्द गर्न र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गरेको छ । साथै, हिंसात्मक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि आयोगले भनेको छ । ‘आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्य–मान्यताविपरीत हुन जान्छ । कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन,’ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्तिमा भनेका छन् । 

दलहरूले गरे भर्त्सना

प्रतिगामी तत्वहरूले अराजकता सिर्जना गरे : समाजवादी मोर्चा

समाजवादी मोर्चाले विज्ञप्तिमार्फत भनेको छ– पुनरुत्थानवादी र उच्छृंखल प्रतिगामी तत्वहरूले अराजकता सिर्जना गर्दै दलको कार्यालय, निजी तथा सार्वजनिक सम्पत्ति र सञ्चारगृहमा समेत तोडफोड तथा आगजानी गर्ने उच्छृंखल र अराजक कार्यको भर्त्सना गर्दछौँ । यस कार्यमा संलग्न आपराधिक र आततायी तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र नागरिकको धनजनको सुरक्षा गर्न सरकारसँग जोडदार माग गर्दछौँ।

हिंसा भड्काउने र हिंसामा सामेल हुनेहरूलाई कारबाही गर्न कांग्रेसको माग

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ– लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनीतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपिलसमेत गर्दछ । आज हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन आग्रह गर्दछौँ ।

देशलाई अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलाप निन्दनीय : एमाले

महासचिव शंकर पोखरेलले वक्तव्यमार्फत भनेका छन्– राजावादीहरूको अराजक समूहले देखाएको उद्दण्डता, अराजकता र हिंसाको एमाले घोर भर्त्सना गर्दछ । शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्दै हतियार खोस्ने, नागरिकका घर, व्यावसायिक र सरकारी भवन, सञ्चारगृह, दलका कार्यालयमाथि आगजनी, लुटपाट गर्ने तथा लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलाप निन्दनीय छन् । यस्ता क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दछौँ ।’

राजावादीबाट भएको अराजक गतिविधि अक्षम्य र भर्त्सनायोग्य : रास्वपा
कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्तिमार्फत भनेका छन्– पूर्वराजा पक्षधरहरूबाट आज भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनीजस्ता अक्षम्य गतिविधिहरूको भर्त्सना गर्दछौँ । आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपमा प्रस्तुत हुन सचेत गराउँछौँ । विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनुपर्छ भन्ने हाम्रो ठहर हो ।