
शुक्रबार राजवादीहरूले गरेको आन्दोलनमा प्रहरी कार्यालयमा समेत तोडफोड भएको छ । काठमाडौंका चार वटा प्रहरी कार्यालयमा तोडफोड भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार सनामंगलस्थित प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, भत्केको पुलस्थित प्रहरी बिट, सिनामंगलस्थित नेपाल प्रहरीको सिसिक्यामेरा तोडफोड भएको छ। तीनकुनेस्थित ट्राफिक आइल्याण्ड पनि तोडफोड भएको छ ।
एसपी बोहराका अनुसार आन्दोलनकारीले १४ ठाउँमा आगजनी, नौ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट गरेका छन् ।
उनीहरुले मार्बल हाउस, समाजवादी पार्टी कार्यालय, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, कर्पाेरेट टावर, विमानस्थलको कार्गाे क्षेत्र, कोटेश्वर महादेवस्थापन, कोटेश्वर गणेशस्थान, भाटभटेनी अगाडि सरकारी गाडी, बालकुमारीबाट काठमाडौं आउने करिडोरमा निजी गाडी, वानेश्वर पुल पारी, एयरपोर्टको फोहोर फाल्ने क्षेत्र, सिनामंगलस्थित इन्द्रेणी सहकारी रहेको भवन, रोयल रेष्टुरेन्ट र सिनामंगलकै एरोम्याक्स रहेको भवनमा आगजनी गरिएको छ । विमानस्थल क्षेत्रमा समेत आगजनी गरेपछि हवाई उडान समेत प्रभावित बनेको थियो।
त्यस्तै, अन्नूपर्ण मिडिया हाउस, कान्तिपुर टेलिभिजन, केएमसी अस्पताल सिनमंगल, सिनामंगलस्थित नेपाल प्रहरीको सिसिक्यामेरा, भत्केको पुलस्थित प्रहरी बिट, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड भएको छ ।
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भने तोडफोडसँगै लुटपाटसमेत भएको छ । एकैपटक छिरेको अराजक समूहले भाटभटेनीमा लुटपाट आतंक मच्चाएको थियो ।
आन्दोलनमा ९ वटा सरकारीसहित १५ वटा सवारी साधनमा तोडफोड तथा आगजनी भएको काठमाडौं परिसरका एसपी बोहरा बताउँछन् ।
झडपमा ५३ जना नेपाल प्रहरी तथा सशस्त्र प्रहरीतर्फ २२ जना घाइते भएका छन् । त्यस्तै, ३५ जना प्रदर्शनकारी घाइते छन् । जसमध्ये केही गोली लागेर घाइते भएका छन् । तोडफोडमा संलग्न ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।