मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
Invalid date format १८:५७:oo
Read Time : > 1 मिनेट
समाचार

१६ वर्षपछि पिएन क्याम्पसमा स्ववियु निर्वाचन, ६८.७५ प्रतिशत अनुपस्थित

नौ हजार २७० मतदातामध्ये दुई हजार ८९७ जनाले गरे मतदान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसमा आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा ६८.७५ प्रतिशत विद्यार्थी अनुपस्थित भएका छन् ।
कुल नौ हजार २७० मतदातामध्ये निर्वाचनमा दुई हजार ८९७ जना मात्र मतदानमा सहभागी भएका छन् । कुल मतदातामध्ये खसेको मत ३१.२५ प्रतिशत हुन आउँछ । निर्वाचनमा प्रत्यक्षतर्फ दुई हजार ८९६ र समानुपातिकतर्फ २८९२ मत खसेको हो ।

पिएनमा ०६५ सालपछि स्ववियु निर्वाचन भएको हो । १६ वर्षपछि भएको निर्वाचनमा मत भने निकै कम खसेको हो । पिएनको इतिहासमा स्ववियु निर्वाचनमा खसेको मत हालसम्मकै कम हो।

यसअघि ५ चैतका लागि तय भएको निर्वाचनमा समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनावचिह्न छुटेका कारण रोकिएको थियो । त्यसपछि ६ चैतका लागि निर्वाचन तय भएको थियो । ६ चैतका लागि निर्वाचन तय भएकोमा संयुक्त प्यानलसहित अखिल छैटाैँ र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि पुनः दोस्रोपटक निर्वाचन रोकिएको थियो ।

दोस्रोपटक निर्वाचन रोकिएपछि ७ चैतमा बसेको स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विद्यार्थी संघ, संगठन र स्वतन्त्र उम्मेदवारबिच भएको सर्वपक्षीय बैठकले १० चैतमा निर्वाचन गर्ने निर्णय गरेका थिए । सोहीअनुसार आइतबार शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको हो ।

मतदानका लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । निर्वाचनमा सभापति पदमा लागि राजनीतिक दलको भातृ संगठनका ६ र दुई स्वतन्त्रसहित आठजनाले उम्मेदवारी दिएका थिए  

सभापतिको उम्मेदवारमा एमालेनिकट अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेपाल विद्यार्थी संघबाट सुशील न्यौपाने, माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीबाट नवीन अधिकारी, एकीकृत समाजवादीनिकट अखिल समाजवादी, नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु र नेकपा विप्लवनिकट अखिलको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैटाैँबाट मिलन सुनार, स्वतन्त्र उम्मेदवार दिनेमा विप्लवी न्यौपाने र कमल सुवेदी रहेका थिए।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य)का उम्मेद्वार पनि चुनावी मैदानमा थिए। 

पृथ्वीनारायण सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रूपमा चिनिन्छ । हाल क्याम्पसमा १२ हजार ५०० विद्यार्थी अध्य्यनरत छन्। विद्यार्थी संख्यासँगै त्रिविअन्तर्गत देशकै ठुलो आंगिक क्याम्पसको रूपमा समेत रहेको पृथ्वीनारायणमा ०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन। 

विवादका कारण यस अघि ०७३ र ०७९ सालमा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो। ०७३ सालमा विद्यार्थी संगठनबिचको विवादका कारण र ०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन नसकेको हो।