
मिनी जनमतसंग्रहका रूपमा चर्चा गरिने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) र कांग्रेसनिकट नेविसंघले दुई वर्षअघिको तुलनामा व्यापक सुधार गर्दा एमालेनिकट अनेरास्ववियुको नतिजा भने अप्रत्याशित रूपमा खुम्चिएको छ । बुधबार साँझसम्म २९३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा नेविसंघले ११३, अनेरास्ववियुले ९१ र क्रान्तिकारीले ८१ क्याम्पसमा नेतृत्व जितेका छन् । जबकि ०७९ मा ३५५ क्याम्पसमा निर्वाचन हुँदा अनेरास्ववियुले १३३, नेविसंघले ८९ र क्रान्तिकारीले ६५ ठाउँमा जितेका थिए ।
यसपालि चुनावको तयारी गरिएका आंगिकसहित ४२२ क्याम्पसमध्ये २४ आंगिकसहित करिब एक सयमा विभिन्न कारणले निर्वाचन स्थगित भएका छन् । निर्वाचन भएका तीन सय हाराहारीमध्ये केहीमा परिणाम आउन बाँकी छ । त्यस्तै, परिणाम आइसकेका २९३ मा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले चार, स्वतन्त्रले तीन र जसपानिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले एक क्याम्पसमा नेतृत्व जितेका छन् ।
यसअघि ०७९ मा जितेका ठुला क्याम्पस अनेरास्ववियुले यसपालि गुमाउनुपरेको छ । उपत्यकाका पुल्चोक इन्जिनियरिङ, जनप्रशासन, महाराजगन्जको मेडिकल कलेज र नर्सिङ क्याम्पस तथा झापाको मेची बहुमुखी क्याम्पस अनेरास्ववियुले गुमाएको छ । महाराजगन्ज मेडिकल कलेज र नर्सिङ क्याम्पस नेविसंघले जितेको छ । उपत्यकाबाहिरका ६–७ क्याम्पसमा पनि नेविसंघको नेतृत्व आएको छ । अनेरास्ववियुले ०७९ मा हारेको वन विज्ञान अध्ययन संस्थान र नेपालगन्ज नर्सिङमा भने यसपालि जितेको छ ।
क्रान्तिकारीले भने ०७९ मा हारेको जनप्रशासन, काठमाडौं इन्जिनियरिङ कलेज, बानेश्वर बहुमुखी, जनकपुर इन्जिनियरिङ, भोजपुर बहुमुखी, पाल्पाको त्रिभुवन क्याम्पस, चितवन इन्जियिनरिङ कलेज रामपुर, विराटनगरको नर्सिङ क्याम्पस र विराटनगरकै स्नातकोत्तर क्याम्पसमा अहिले जित निकालेको छ । ०७९ मा जितेको हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पस भने यसपालि हारेको छ ।
३७ आंगिक क्याम्पसको नतिजा आउँदा कहाँ कसले जिते ?
त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ३९ मा मात्र निर्वाचन भएको छ । जसमा बुधबार साँझसम्म ३७ को नतिजा आएको छ । दुई क्याम्पसमा मतगणना जारी छ । नतिजा आएका ३७ मध्ये नेविसंघले १६, अनेरास्ववियुले ११ र क्रान्तिकारीले ६ र जसपानिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले एक तथा स्वतन्त्रले तीन क्याम्पसमा जितेका छन् ।
केही क्याम्पसमा निर्वाचन अन्योलमा, केहीको मिति तोकियो
पोखराको पिएनमा बुधबार हुन नसकेपछि फेरि १० चैतमा गर्ने तय
काठमाडौंका विश्वभाषा, शंकरदेव, पद्मकन्या, त्रिचन्द्र, आरआर, अस्कललगायत ठुला क्याम्पसमा निर्वाचन रोकिएको छ । त्रिचन्द्र, आरआर, सरस्वती र नेपाल ल क्याम्पसमा चुनाव गराउनै सकस देखिएको छ । यी क्याम्पसमा विद्यार्थी संख्या धेरै रहेको र चर्को विवाद भएकाले निर्वाचन प्रक्रिया अघि बढाउन कठिन परेको हो । विश्वभाषामा भने विद्यार्थी संख्या नै कम भएको भन्दै निर्वाचन नहुँदा पनि फरक नपर्ने त्रिविको निष्कर्ष छ ।
पद्मकन्या क्याम्पसमा आज (बिहीबार)का लागि मतदानको मिति तोकिएको छ । अस्कलमा १० चैतमा निर्वाचन गर्ने निश्चित गरिएको छ । पोखराको चर्चित पृथ्वीनारायण क्याम्पसमा पनि बुधबार तोकिएको निर्वाचन हुन नसकेपछि १० का लागि नयाँ मिति तोकिएको छ । यो क्याम्पसमा मतदाता नामावलीमा विवाद छ । त्यस्तै, त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा पनि निर्वाचन हुन सकेको छैन । ८ चैतमा गर्ने तय भएको छ । ललितपुरको महालक्ष्मी क्याम्पसमा पनि ८ चैतमा निर्वाचन गर्ने तय भएको छ । ललितपुरका आठ क्याम्पसमध्ये हिमालयन इन्जिनियरिङ र कान्तिपुर इन्जिनियरिङमा निर्वाचन नै अनिश्चित बनेको छ । महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा ९ चैतमा निर्वाचन तोकिएको छ।
त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीका अनुसार देशका केही ठुला क्याम्पसमा विवाद कायमै रहेकाले चुनाव गराउन कठिन देखिएको छ । तेह्रथुम क्याम्पस, जनकपुरको रामसागर रामस्वरूप क्याम्पस, बुटवलको लुम्बिनी बहुमुखी र भैरहवा बहुमुखी क्याम्पसमा निर्वाचन हुन सकेको छैन । रूपन्देहीकै पक्लिहवा क्याम्पसमा पनि विवाद जारी छ । कञ्चनपुरको विज्ञान क्याम्पसमा पनि रोकिएको निर्वाचन गराउन विवाद मिलाउने प्रयास भइरहेको प्रा.डा. केसीले बताए।
मतगणनापछि घोषणाका क्रममा विवाद निम्तियो केही क्याम्पसमा
वीरगन्ज नर्सिङ क्याम्पसमा निर्वाचन सम्पन्न भएर मतगणनासमेत भइसकेको अवस्थामा घोषणा भने हुन सकेको छैन । गणनापछि विवाद हुँदा घोषणा रोकिएको हो । नेविसंघले घोषणा हुन नदिएपछि मतपत्र सिलबन्दी गरेर राखिएको छ । त्यस्तै, भक्तपुर बहुमुखी क्याम्पसमा पनि घोषणा रोकिएको छ । यहाँ अखिल क्रान्तिकारीले फेक मतसमेत खसेको भन्दै विरोध गरेको छ ।
स्ववियु निर्वाचनप्रति त्रिवि पदाधिकारीले दिनै छाडे चासो
स्ववियु निर्वाचन चलिरहेको छ । तर, त्रिभुवन विश्वविद्यालय नै निर्वाचनबारे बेखबरजस्तै छ । त्रिविले कहाँ र कुन क्याम्पसमा चुनाव भइसक्यो र कुनमा बाँकी छ भन्ने सामान्य सूचनासमेत राखेको छैन ।
विद्यार्थीको त्रासका कारण भिसी चार दिनदेखि कार्यालय आएका छैनन् । त्यस्तै, रेक्टर र रजिस्ट्रार पनि चार दिनदेखि कार्यालयबाहिर छन् । स्ववियु चुनाव सम्पन्न गराउने महाशाखा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीको कार्यकक्षमै तोडफोड भएको छ । उनी पनि बाहिरै बसेर स्ववियु चुनावको जानकारी लिइरहेका छन् । उनको कार्यकक्षमा विद्यार्थीले तोडफोड गरेका छन् । स्ववियु निर्वाचन गराउने प्रमुख महाशाखा निर्देशनालयमा एक कर्मचारी र प्रमुख मात्रै छन् । एकातिर विद्यार्थीको अवरोध र अर्कातिर कार्यालयमै जाने वातावरण नभएपछि अधिकारीले झोलाबाट कार्यालय चलाइरहेका छन्।
‘यसको तथ्यांक हामीले खासै राख्दैनौँ, सबै विद्यार्थीले गर्छन्,’ त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीले भने, ‘अब बाँकी रहेका क्याम्पसमा चुनाव नभए पनि हामीले जोड गर्दैनौँ, यही चुनाव गराउन निकै कठिन भयो ।’
कुन क्याम्पसमा कसले जिते : यस्तो छ नतिजाको तालिका