
प्रतिनिधिसभामा सांसद डा. सुनीलकुमार शर्माले स्वास्थ्य सेवा सुधार तथा सर्वसुलभ उपचारको सुनिश्चिततासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा शर्माले नेपाली नागरिकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउन आवश्यक नीति तथा कार्यक्रम लागू गर्नुपर्ने आवश्यकता औँल्याए। उनले विशेष गरी, ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच दिन, स्वास्थ्य बिमाको दायरा बढाउन र सरकारी अस्पतालहरूको सेवा प्रभावकारी बनाउन ठोस उपाय आवश्यक रहेको स्पष्ट पारे।
उक्त प्रस्तावमा स्वास्थ्य क्षेत्रमा वित्तीय लगानी वृद्धि, दूरदराजका क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्थापन, औषधि आपूर्तिको प्रभावकारी प्रणाली र सर्वसुलभ उपचार सेवा सुनिश्चित गर्ने कानुनी संरचना तयार गर्नुपर्ने कुरामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
प्रस्तावमा स्वास्थ्य सेवा सुधारका गर्न स्वास्थ्य बिमाको पहुँच विस्तार गरी नेपालका सबै नागरिकलाई सरकारी स्वास्थ्य बिमाको दायरामा ल्याउने योजना, सरकारी अस्पताल सुधार–ग्रामीण तथा दुर्गम भेगमा रहेका अस्पतालहरूमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्नुपर्ने उल्लेख छ।
त्यस्तै, विपन्न नागरिकलाई प्रमुख रोगको निःशुल्क उपचार उपलब्ध गराउने नीति हुनुपर्ने, औषधि आपूर्ति व्यवस्थापन– सरकारी अस्पतालहरूमा औषधि अभाव हटाई नियमित आपूर्ति सुनिश्चित गर्ने योजना हुनुपर्ने प्रस्तावमा भनिएको छ। सर्वसुलभ उपचारको लागि निजी अस्पतालहरूसँग सहकार्य गरी नागरिकलाई सेवा दिने प्रणाली विकास गर्ने उक्त प्रस्तावको मुख्य उद्देश्य रहेको बताइएको छ।
प्रस्तावलाई विभिन्न दलका सांसदको समर्थन प्राप्त भएको छ। प्रस्तावलाई समर्थन गर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी, नेकपा (माओवादी केन्द्र)का नेता छिरिङ डम्डुल लामा, जनता समाजवादी पार्टी (जसपा)की नेत्री रेखा यादव र दीपक कार्की, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, नेकपा (एमाले)का नेता अमर रायमाझी र जनता समाजवादी पार्टी नेत्री रन्जु झा, नेपाली कांग्रेसका राजेन्द्र बजगाईं र देवप्रसाद तिमल्सिना रहेका छन्।
सांसद डा. शर्माले जनस्वास्थ्य सुधारमा सरकारले ध्यान दिनुपर्ने र स्वास्थ्य सेवा मौलिक हकअन्तर्गत पर्ने भएकाले सरकारको दायित्वको रूपमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। उनले उक्त प्रस्तावका विषयमा आमनागरिकको चासो बढिरहेको र योजनाहरू कार्यान्वयन भएमा लाखौँ नागरिकले स्वास्थ्य सेवामा सहज पहुँच पाउने आशा गरिएको स्पष्ट पारे। रासस