
‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३ करोड रुपैयाँ लागतमा निर्मित मकवानपुरको जनकल्याण माध्यमिक विद्यालयको भवन बुधबार उद्घाटन भएको छ।
कवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दनले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्। विद्यालयमा आयोजित कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ताहरू र विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति थियो।
भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग भएको थियो। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत कार्यान्वयन भएको भारतीय राजदूतावासले जनाएको छ। मकवानपुरको जिल्ला समन्वय समितिमार्फत भवन निर्माण भएको हो।
सन् १९६८ मा स्थापना भएको यस विद्यालयमा ८५० विद्यार्थी छन्, जसमध्ये ५४ प्रतिशत छात्रा छन्।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, विद्यालय व्यवस्थापनका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको लागि भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरे। भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको उल्लेख गरेको छ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको पनि दूतावासले जनाएको छ।