
मकवानपुर प्रहरीले हेटौँडाको छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका– ८ ओमनगर टोलबाट तीनजना र हेटौँडा– १० न्युरेनीबाट तीनजनालाई पक्राउ गरेको हो।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार ओमनगरस्थित रनिश थापाको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पुगेको टोलीले तीनजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा हेटौँडा– ८ का ३७ वर्षीय रनिश थापासहित हेटौँडा–१५ का ३२ वर्षीय धनसिंह वाइबा र हेटौँडा– ८ का ३५ वर्षीय सुनिल खड्गी रहेका छन्। प्रवक्ता अर्यालका अनुसार उनीहरूको साथबाट दुई ग्राम २९० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो।
यस्तै हेटौँडा– १० न्युरेनीस्थित हुमबहादुर थापामगरको घरबाट एक ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मगरसहित हेटौंँडा– २ चौकीटोलका २४ वर्षीय विजय आले मगर र हेटौँडा– १८ का २० वर्षीय रविन सुनार रहेका छन्। विशेष सूचनाको आधारमा पुगेको प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको खैरो हेरोइन फेला परेको हो।
पक्राउ परेका ६ जनालाई नै जिल्ला अदालतबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता अर्यालले बताए।