मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत ५ मंगलबार १६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १६:४o:oo

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनअघि बृहत् समीक्षा आवश्यक रहेको बताएका छन् । २७औँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा आज यहाँ आयोजित जनसांस्कृतिक राष्ट्रिय सम्मान– २०८१ कार्यक्रममा उनले अहिले संविधान संशोधनभन्दा पनि समीक्षाको बहस आवश्यक रहेको बताए ।

‘संविधान समीक्षाको बहस चलाइयोस्, त्यो टुंगाेमा पुगेपछि मात्रै संशोधन अघि बढाइनुपर्छ’ अध्यक्ष दाहालले भने, ‘सबै राजनीतिक दल र शक्ति मिलेर समीक्षा गरौँ, यसरी गरिने संशोधनले मात्रै सही आकार लिन सक्छ ।’ 

जनताको संघर्ष र बलिदानको बलमा स्थापित राजनीतिक उपलब्धि खोस्ने प्रयास स्वीकार्य नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यस्तो प्रयासलाई परास्त गरिने बताए । इतिहासमा सीमित भइसकेको राजतन्त्र पुनर्स्थापना असम्भव छ,’ उनले भने, ‘त्यसका लागि फेरि अर्को मूर्खता गर्नु उचित हुँदैन ।’

वैज्ञानिक समाजवादलाई राजनीतिक उद्देश्य लिएका माओवादी धारहरू छिट्टै एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले वामपन्थी एकताका निम्ति आफूले इमानदार प्रयास गर्ने बताए । मुलुकको राजनीतिक परिवर्तनमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । 

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य माइला लामाले मुलुकलाई पश्चगमनतर्फ फर्काउने प्रयास कुनै हालतमा सफल नहुने बताए । प्रतिगामी कदमविरुद्ध माओवादीहरू एकताबद्ध भएर फेरि संघर्ष गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री सत्य पहाडीले लेखेका १० वटा पुस्तक विमोचन गरेका थिए।