मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Saturday, 15 March, 2025
२o८१ चैत २ शनिबार o८:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलोपटक च्याम्पियन बन्ने होडमा काँकडभिट्टा र चर्च ब्वाइज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार o८:२६:oo

आयोजक काँकडभिट्टा ट्रेनिङ सेन्टरले उत्कृष्ट फर्ममा रहेको चर्च ब्वाइज युनाइटेडविरुद्ध शनिबार मेचीनगर गोल्डकपको फाइनलमा प्रतिस्पर्धा गर्दै छ । उपाधि भिडन्तअघि शुक्रबार भएको प्रिपोस्टमा दुवै टोलीका कप्तान र प्रशिक्षकले पहिलोपटक च्याम्पियन बन्ने लक्ष्य राखेको दाबी गरेका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले एक दिन विश्राम पाउँदा सहज हुने बताएका छन् । 

‘फाइनलअघि एक दिन विश्राम पाएका छौँ । लगातार खेल्दा गाह्रो भइरहेको थियो,’ श्रेष्ठले भने, ‘हामीले विपक्षीलाई कमजोर लिँदैनौँ ।’ पाँच वर्षपछि आयोजना भएको गोल्डकपले नयाँ च्याम्पियन पाउनेछ । ०७१ सालबाट सुरु भएको गोल्डकपको पहिलो विजेता बिर्तामोड युनाइटेड, दोस्रो झापा–११ र तेस्रोपटकको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब हो । चौथो संस्करणको उपाधि नेपाल पुलिस क्लबले हात पारेको थियो । श्रेष्ठको प्रशिक्षणमा चर्च ब्वाइजले झापा, बागमती र फाल्गुनन्द गोल्डकपको उपाधि जितिसकेको छ । यसपटक मोेफसलमा चर्च ब्वाइजले १० मध्ये आठ गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।

चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले लगातार खेल्दा थकित भए पनि मोसफलको अन्तिम प्रतियोगिता हुँदा जित्न खेल्ने प्रतिक्रिया दिएका छन् । चर्च ब्वाइजले पहिलो खेलमा झापा एफसीलाई सडेन डेथमा हराएको थियो । सेमिफाइनलमा ‘ए’ डिभिजन लिगको पूर्वविजेता मच्छिन्द्र एफसीविरुद्ध ४–३ को जित चर्च ब्वाइजले निकालेको थियो ।

अनुभवी खेलाडीका साथमा चर्च ब्वाइज
सेमिफाइनलमा विदेशी खेलाडी अबयोमी फाकुन्लेले ह्याट्रिक गरेका थिए । उनीसँगै चर्च ब्वाइजमा नेपाल राष्ट्रिय टिमबाट खेलिसकेका सुरज जिउ ठकुरी, नेपालको उमेर समूहबाट खेलेका समीर तामाङ, राजेश परियार, जया गुरुङ, गौरव श्रेष्ठ छन् । विदेशी खेलाडी सर्ज डिका र रिचार्ड विल्सनको प्रदर्शनले टोलीको आत्मविश्वास बढाएको छ । आयोजक काँकडभिट्टा घरेलु समर्थकको साथमा उपाधि घरमै राख्ने योजनामा छ । यस सिजनमा पहिलोपटक फाइनलमा स्थान बनाएको आयोजक पहिलो अवसरमै उपाधि जित्ने दाउमा छ । प्रशिक्षक मुन्ना सुब्बाले भने, ‘हामीसँग जति खेलाडी छन्, सबै क्षमतावान् छन् । चर्च ब्वाइज बलियो टोली हो ।’ 

पहिलो प्रयासमै उपाधि जित्ने दाबी
काँकडभिट्टका उपकप्तान दिवस उराउले पनि उपाधि जित्न खेल्ने बताए । आयोजक काँकडभिट्टाले पहिलो खेलमा भारतको जर्जियन एफसीलाई ४–२ तथा सेमिफाइनलमा धरान एफसीलाई सडेन डेथमा हराउँदै उपाधिनजिक पुगेको हो । टोलीमा कप्तान खामिर गिल्सानसँगै गोलरक्षक विश्वास चौधरी, दिवस, पासाङ लामा, विवेक गुरुङ, निशान लिम्बूजस्ता प्रतिभाशाली खेलाडी काँकडभिट्टासँग छ । विदेशी खेलाडी रोबार्ट, इब्राहिम र फ्र्यांकलिन कुइटे टलाले पनि घरेलु समर्थकको मन जित्ने प्रदर्शन गर्दै आएका छन् । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार तथा उत्कृष्ट गोलरक्षक र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।