
सिमसिम वर्षा भइरहेको थियो । बाहिरी मौसम निकै चिसो थियो । एक किसान आइतबार कैयौँ माइल पैदल हिँडेर पहाडमा रहेको चर्चमा पुगे । चर्चको ढोका बन्द थियो । किसानले चर्को स्वरमा कराउँदै भने– यहाँ कोही हुनुहुन्छ ?
किसानको चर्को आवाज सुनेर पादरी बाहिर निस्किए । चर्चबाहिर किसान उभिइरहेको देखेर उनी छक्क परे । उनले भने– निकै जाडो भएकाले आजको प्रार्थनामा कोही आउँछन् भन्ने सोचेकै थिइनँ । त्यही भएर मैले त कुनै तयारी गरेको छैनँ । के केवल एक व्यक्तिका लागि त्यसरी तयार गर्नु ठिक होला ? उनले किसानतिर हेर्दै थप भने– हामीले आज पूजा छोडेर आ–आफ्नो घर गएर आराम गर्दा कसो होला ?
किसानले भने– सर, म एक साधारण किसान हुँ । म हरेक बिहान परेवालाई चारो खुवाउन पार्कमा जान्छु र त्यहाँ एउटा मात्र परेवा छ भने पनि म उसलाई चारो नखुवाइ फर्किन्नँ । किसानको यस्तो कुरा सुनेर पादरी लज्जित भए । उनले तत्काल मनमनै भगवान्सँग माफी मागे र सबै टेबुल र कुर्सी सफा गरे, प्रत्येक टेबुलमा बाइबल र मैनबत्ती राखे र अरू वेलाजस्तै विधिपूर्वक प्रार्थना गर्न थाले ।
तीन–चार घण्टापछि प्रार्थना सकियो । पादरीले किसानलाई आफ्नो कर्तव्य सम्झाइदिएकामा धन्यवाद दिए । किसान केही नबोली उठेर जान थाले । त्यो देखेर पादरीले अचम्म मान्दै सोधे– के भयो, प्रार्थनामा केही कमी भयो कि ? किसानले भने– हजुर, म एउटा साधारण किसान हुँ । तर, परेवालाई चारो दिन जाँदा त्यहाँ एउटा मात्र परेवा आयो भने म सबै दाना उसैलाई खुवाउँदिनँ ।
किसानको जवाफबाट पादरीले आफ्नो कर्तव्य निभाउनु मात्र नभई परिस्थितिअनुसार निर्णय गर्न पनि सक्नुपर्छ भन्ने शिक्षा पाए । उनले एक व्यक्तिका लागि त्यसैअनुसारको तयारी गरेर प्रार्थना गर्नुपर्ने थियो भन्ने बुझे ।