
बेलुन उडाएर पोखरा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने क्रममा दुर्घटना हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएपछि हाल अस्पतालमा छन् । पोखराबाट हेलिकोप्टरमा उनीहरुलाई काठमाडौं ल्याई कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ । उनीहरु अस्पतालको सघन कक्षमा छन् ।
हाइड्रोजन ग्यास भरिएको बेलुन उडाएर कार्यक्रमको उद्घाटन थियो । जसक्रममा पौडेल र आचार्यले बेलुको डोरी समाएलगत्तै खोज्दा एक्कासी पड्किएर आगो निस्कदा पौडेल र आचार्यको अनुहार लगायतका भाग जलेको हो ।
यो घटनाले हाइड्रोजन ग्यासको प्रयोग र सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ । आयोजकको लापरबाहीका कारण यस्तो भएको जानकारहरुले बताएका छन् । स्टेजमा झिरझिरे प्रयोग भएको र त्यसबाट बेलुनमा आगलागी हुँदा यस्तो दुर्घटना भएको आकलन गरिएको छ ।
घटनाबारे डा.रबिन्द्र पाण्डेले सामाजिक सञ्जालमा भनेका छन्,‘आज पोखरामा आयोजकको चरम लापरवाहीको कारण माननीय अर्थमन्त्री विष्णु पौडेल तथा मेयर धनराज आचार्य जलनमा पर्नुभयो। विदेशमा भिआईपीका सुरक्षाले यस्ता कुरा जाँच गर्ने परम्परा हुन्छ। हाइड्रोजन ग्यास सबैभन्दा हलुका र अति प्रज्वलनशील ग्यास हो । यस्तो प्रज्वलनशील ग्यास भरिएका ६० वटा बेलुनलाई झिरझिरे ( स्पार्किंग ) संगै प्रयोग गर्दा खतरा हुन्छ भन्ने आयोजकले बुझ्नुपर्ने थियो । बेलुनमा सामान्य ग्यास भरिएको भएपनि उड्ने थिए । हिलियम ग्यास विकल्प थियो । तर हाइड्रोजन ग्यास भरिएका बेलुनको प्रयोग अत्यन्तै घातक हुन्छ । खुला ठाउँमा कार्यक्रम भएको हुँदा जलन कम भयो । बन्द कोठामा यस्तो घटना भएको भए तथा बन्द कोठामा त्यो आगोले अन्य बस्तु समेत जलाएको भए स्थिति अकल्पनीय हुनसक्थ्यो ।’
अर्थमन्त्री पौडेलको अनुहारसँगै घाँटी र हातका विभिन्न भाग जलेको छ । त्यस्तै, मेयर आचार्यको गाला, टाउको र हात जलेको छ । आगोले श्वासनली तथा फोक्सोमा समेत असर पारेको हुनसक्ने भएकाले निगरानीमा राखेर उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा.बिशाल कार्कीका अनुसार ४८ घन्टा सघन कक्षामा निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ । दुवैको शरिरको ५–६ प्रतिशत भाग चलेको छ । भित्री असर नपरेको अवस्थामा यती जलनलाई चिकित्सकहरुले खतरामुक्त भन्ने गरेका छन् ।