मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
२o८१ माघ ३० बुधबार o८:o९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खडेरीले भुइँमा हरायो हिउँदे बाली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार o८:o९:oo

लामो समयसम्म पानी नपर्दा हिउँदेबाली गहुँ, जौ, चना, मुसुरोलगायत बारीमै सुक्न थालेका छन् । लामो खडेरीले किसान मारमा परेका किसान अन्नबाली उत्पादन घट्ने भएपछि चिन्तित देखिएका छन् । बारीमा छरेको बिउ पनि हराएको सल्यानको बनगाड कुपिन्डे नगरपालिका–२ का लक्ष्मण बुढाले बताए ।  ‘गहुँ छरेको थिएँ, पानी नपरेर बारीमै हराइसक्यो, यसपालि केले परिवारले पाल्ने भन्ने चिन्ता छ,’ उनले भने । 

पानी नपर्दा फुलेको तोरीमा दाना नलागेको अर्का किसान राजी बुढाले बताए । ‘केही सेपिलो जग्गातिर मात्रै हरियो गहुँँ–जौ देखिन्छ । अन्यत्र सबै स्थान सुक्खा छ,’ उनले भने ।  सिँचाइको सुविधा भएको खेतमा लगाएको गहुँ पनि पहिलेजस्तो फस्टाउन नसकेको कालिमाटी गाउँपालिका– ५ का भद्रबहादुर घर्तीले बताए । पाखोमा लगाएको गहुँ त वर्षा नहुँदा उम्रिएको छैन । सल्यानमा ३८ हजार ९२६ हेक्टर क्षेत्रफलमा हिउँदे बाली लगाइन्छ । 

पूर्वी नेपालमा त पानी नै नपरी हिउँद बित्न थालेको छ । यसपालि हिउँदमा ताप्लेजुङमा फाटफुट मात्र वर्षा भएको छ । ‘हिउँद पानी नपरी बित्यो,’ फुङलिङका किसान पुन्यप्रसाद भट्टराईले भने, ‘हिउँदेबाली र नगदेबाली अलैँचीलाई पनि अहिले पानी चाहिएको छ । राम्ररी बाली भित्र्याउन पाइएलाजस्तो छैन ।’

कुलोको सिँचाइ प्रबन्ध भएका ठाउँमा पनि खोलामा पानी सुकेका कारण सिँचाइ हुन सकेको छैन । ‘पानी नपरेको पाँच महिना भयो, सबैतिर सुक्खा छ । माघ सकिँदा पनि पानी पर्ने छाँटकाँट छैन,’ उनले भने । जिल्ला सदरमुकाम फुङलिङलाई तरकारी उत्पादन गरी ५० प्रतिशतभन्दा बढी धानिरहेको फुङलिङ नगरपालिका–३ केनिम तथा सिम्लेका किसान पानी नपरेपछि चिन्तामा छन् ।

यहाँका सय परिवारले तरकारी खेती गरिरहेका छन् । किसान गोपाल भट्टराईले पानी नपरेपछि खेतबारीमा तरकारी बाली कक्रँदै गएको बताए । बन्दाकोभी, भन्टा, ब्रो काउली, काउली सप्रिन सकेको छैन । खानेपानीका स्रोत धारा, भुल्के (जरुवा), खोला खोल्सी पनि सुक्न थालेका छन् ।  ताप्लेजुङमा २० हजार २८२ हेक्टर खेतीयोग्य जग्गा रहे पनि ८ हजार २०५ हेक्टरमा मात्र सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।