
पोखरामा जारी २४औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट मच्छिन्द्र फुटबल क्लब बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टरफाइनलको खेलमा थ्री स्टार क्लबसँग टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित हुँदै मच्छिन्द्र प्रतियोगिताबाट बाहिरिएको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा भएपछि अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन सकेन। त्यसपछि खेल टाइब्रेकरमा गएको थियो।
प्रतियोगितमा आइतबारको जितसँगै सेमिफाइनल प्रवेश गरेको थ्री स्टारले अब संकटा क्लब र पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबिच २९ माघमा हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि १ फागुनमा हुने सेमिफाइनलमा भिड्नेछ। थ्री स्टार प्रतियोगिताको २४औँ संस्करणसम्म आइपुग्दा पाँचपटक उपाधि उचालेको टोली हो।
मच्छिन्द्रले यसअघि विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै र थ्री स्टारले बाई पाएर क्वार्टरफाइलमा स्थान बनाएका थिए।
टाइब्रेकरका दुवै टोलीले चार-चार पोनाल्टी सुट प्रहार गरेकोमा थ्री स्टारका सबै प्रहार सदुपयोग हुँदा मच्छिन्द्रका दुई प्रहार विफल भए। थ्री स्टारका लागि दीपेश घले, फोडे फोफोना, विराज महर्जन र लक्ष्मण रुचालसँगै मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठको प्रहार सदुपयोग हुँदा मछिन्द्रका विशाल घलानको प्रहार क्रसबारमा लागेर फर्केको थियो भने आदित्य शाक्यको प्रहार विपक्षी किपर सरिन जिसीले विफल पारिदिएका थिए।
यसअघि खेलको सुरुमै अर्थात् दुई मिनेट पुग्न नपाउँदै मच्छिन्द्रका नि आन्द्रेसले हानेको हेड क्रसबारनजिकैबाट बाहिरिँदा टोलीलाई सुरुवाती अग्रता दिलाउन चुकेका थिए। मनीष डाँगीले खेलको चौथो मिनेटमा प्रहार गरेको बल क्रसबारनजिकैबाट बाहिर जाँदा खेलमा अग्रता लिन मच्छिन्द्र दोस्रोपटक चुकेको थियो। थ्री स्टारका लागि दीपेश घलेले २०औँ मिनेटमा हानेको प्रहार क्रसबारमा लागेर फर्किँदा टोलीलाई सुरुवाती अग्रता दिलाउन चुकेका थिए।
४५+३ मा मच्छिन्द्रले पाएको फ्रिकिक ओमालाजा नुरिन करिमले पोस्टतर्फ प्रहार गर्दा विपक्षी किपर अभिषेक बरालले समातेर विफल पारिदिएका थिए। ६५औँ मिनेटमा फ्रिकिक प्रहार गरेका थ्री स्टारका दीपेश आलेको प्रहारसमेत खेर गएको थियो। १०५+१ मा थ्री स्टारका फोडे फोफोनाले हानेको प्रहार बारमा लागेर फर्केको थियो।
सोमबारको खेल चर्च ब्वाइज युनाइटेड र विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबिच हुनेछ।