महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा स्थान पक्का गरेको छ। टोलीको लगातार तेस्रो जित हो।
मंगलबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा महावीरले समूह चरणको आफ्नो अन्तिम खेलमा पुष्पलाल स्पोर्टस् क्लबविरुद्ध १२९ रनको फराकिलो जित दर्ता गर्यो। जितसँगै ३ खेलमा ६ अंक जोडेको महावीर समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ। तीनै खेलमा पराजित पुष्पलाल अंकविहीन रह्यो।
महावीरले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याएको पुष्पलाल १७.५ ओभरमा ८० रनमै समेटियो। पुष्पलालका लागि दीपक भण्डारीले ३४ र बिकी मण्डलले १३ रनको योगदान गरे। महावीरका लागि प्रतिश जिसी, विराट बस्नेत र सगुन चन्दले समान दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो। महावीरका लागि राजेश कर्णले ४४ बलमा सार्वधिक ८० रनको योगदान गरे। यसैगरी, सोनु देवकोटाले ४४ र रिजन थापाले ४१ रन बनाए। पुष्पलालका लागि राम रोकाया, ओमप्रकाश डाँगी र विकाश आचार्यले समान एक विकेट लिए।
मंगलबारै सम्पन्न अर्को खेलमा थर्ड आइ युथ क्लबले ओएसिस क्रिकेट एकेडेमीविरुद्ध चार रनको जित निकाल्यो।