राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि मंगलबारबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन सुरु गरिएको छ । अभियान अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको ज्ञानदा माविमा अध्यनरत छात्राहरुलाई पहिलो खोप लगाइएको छ । खोपको सुरुवात बागमती प्रदेश मुख्यमन्त्री बाहदुर सिंह लामा तामाङले गरेका हुन् ।
खोपको सुरुवात गर्दै मुख्यमन्त्री लामाले पाठेघरको मुखको क्यान्सर रोगको चुनौती बढ्दो रहेको बताए । उनले नेपालमा वर्षेनी हजारौं महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट प्रभावित हुने गरेको बताए ।
उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा पाठेघरको मुखको विरुद्धको खोप अभियान सुरु गरिएको उनको भनाई छ ।
‘पाठेघरको मुखको क्यान्सर रोग पुर्ण रुपमा नियन्त्रण गर्न खोप अभियान संचालन गरिएको हो । खोपबाट दैनिक ४ जानको महिलाहरुको मृत्यु हुने दरलाई नियन्त्रण गर्न सकिन्छ ।’ उनले भने, ‘महिलाहरु आफूलाई भएको समस्या लुकाएर राख्ने अवस्थाले पीडा रहेका छन् । रोग लुकाएर राख्नुभन्दा समयमा नै स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्छ ।’
२२ माघदेखि ६ फागुनसम्म चल्ने अभियानमा मकवानपुरका १० वटै स्थानीय तहमा गरि करिब २३ हजार बालिकाहरुलाई एचपिभी बिरुद्ध खोप लगाउन लक्ष्य रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लाका १० पालिका भित्रका विद्याचलय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना छात्रा र बिद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका ६५४ जना किशोरीहरुलाई खेप लगाइने छ ।
सूचना अधिकारी घिमिरेले अभियान सम्पनन गर्न मकवानपुरका २४० वटा विद्यालय र ११० वटा स्वास्थ्य संस्थाबाट खोप सञ्चालन गरिनेछ । उनका अनुसार जिल्लामा सबैभन्दा बढि हेटौँडा उपमहानगरपालिकाका ११ हजार १७३ जना किशोरी र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ४८६ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
यस्तै थाहा नगरपालिकाका १ हजार ८१६, भीमफेदी गाउँपालिकाका ८४४, मकवानपुरगढी गाउँपालिकाका १ हजार ७३, मनहरी गाउँपालिकाका २ हजार २६२, राक्सिराङ गाउँपालिकाका ७९८, कैलाश गाउँपालिकाका १ हजार १, बागमती गाउँपालिकाका १ हजार ३३९, र बकैया गाउँपालिकाका १ हजार ८४८ जनालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ ।
खोप अभियान सञ्चालनका लागि जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वयंमसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए। उनका अनुसार प्रत्येक खोप केन्द्रमा एकजना स्वास्थ्यकर्मी र २ जना स्वयंमसेवक परिचालन गरिनेछ।