मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
२o८१ माघ २२ मंगलबार १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सकियाे गैँडा स्थानान्तरण कार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १७:३२:oo

शनिबारदेखि चितवन राष्ट्रिय निकुञ्जले सुरु गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ। निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र १६ वर्षका पोथी, नमुना मध्यवर्ती सामुदायिक वनबाट १८ वर्षको भाले र १४ वर्षको पोथीलाई स्थानान्तरण गरेर निकुञ्जको पूर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा पठाइएको हो।

सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजाने सिफारिस गरेको थियो। वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिसअनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिएपछि २०८०को चैत महिना पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो।

जोखिमका हिसाबले चितवन निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा पनि गैँडा स्थानान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएको निकुञ्जले पश्चिमतर्फका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने र ‘रेडियो कलर’ लगाएर अनुगमनलाई प्रभावकारी बनाउँदा गैँडालाई बाढीको क्षतिबाट बचाउन सकिने बताउँदै आएको छ।

आनुवंशिक विविधता मिलाउनका लागि पनि यो गैँडा स्थानान्तरणले महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बताए। 'एक ठाउँको गैँडालाई अर्को ठाउँमा लगेर क्रस गराएर आनुवंशिक विविधता मिलाउन आन्तरिक स्थानान्तरणले महत्त्वपूर्ण भूमिका खेल्छ,' आचार्यले बताए। यसरी स्थानान्तरण गरेर नयाँ ठाउँमा लगिएका गैँडा र त्यहाँका गैँडाबिच प्रजनन भएर जन्मिएका गैँडामा रोग-प्रतिरोधात्मक क्षमता पनि बढी रहने आचार्यले बताए।