त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार चौथो हार बेहोरेको छ।
आज (मंगलबार) को खेलमा थाइल्यान्डले नेपाललाई पराजित गरेको छ। थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।
नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले नटआउट १९, पूजा महतोले १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक मा रन जोड्न सकेनन्। थाइल्यान्डकी थिपाचा पुथावोङले ४ विकेट लिइन्।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो। थाइल्यान्डका चानिदा सुथिरुआङले २७, थिपाचा पुथावोङले २५ रन बनाए । थाइल्यान्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौँ विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे। नेपालकी मनीषा उपाध्यायले ३ विकेट लिइन्।
नेपालले यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग एकपटक पराजित भएको थियो। थाइल्यान्ड चारवटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेदरल्यान्ड्स चार खेलमा चार अंकसहित दोस्रो स्थानमा छ। नेपाल अंकविहीन हुँदै पुछारमा छ। प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्डस् खेल्दै छन्। लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ।