प्रदेश स्थापना दिवसका अवसर मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेको आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले जानकारी दिए। गुरुङका अनुसार मंगलबार प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको हो।
यसअघि २२ माघमा प्रदेश सभाको र ४ फागुनमा प्रदेश सरकारको गरी दुई दिन स्थापना दिवस मनाइँदै आएकोमा यस वर्षदेखि प्रदेश सभा स्थापनाको दिनलाई गण्डकी प्रदेश स्थापना दिवसको रूपमा मनाउने निर्णय भएको थियो। सोहीअनुसार मंगलबार स्थापना दिवस मनाइने भएकाले सार्वजनिक बिदा दिएको हो।
नयाँ संविधान जारीसँगै सम्पन्न तीन तहको निर्वाचनपछि २२ माघ ०७४ मा प्रदेश सभाको पहिलो बैठक बसेको दिन हो भने ४ फागुन ०७४ का दिन तत्कालीन प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएको दिन हो।
प्रदेश सभाले पहिलो बैठक बसेको दिनलाई र प्रदेश सरकारले मुख्यमन्त्रीले शपथ लिएको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएकोमा अब गण्डकीले २२ माघलाई स्थापना दिवसका रूपमा मनाउने निर्णय गरेको हो।