लुम्बिनी प्रदेशले आठौँ स्थापना दिवस उत्सवका रूपमा मनाइएको छ। प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा सोमबार स्थापना दिवस उत्सवको रूपमा मनाइएको हो।
प्रदेश सभापरिसर राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरिएको दिवसको मूल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयका स्टलहरू राखेर सरकारले गरेका काम सार्वजनिक गरिएको थियो।
कार्यक्रममा प्रदेशलाई बलियो बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन नै पहिलो आवश्यकता रहेकोमा जोड दिइएको छ। संघीय शासन व्यवस्था लागू भए पनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा पूर्वमुख्यमन्त्रीसहितका वक्ताहरूले जोड दिए। तीन तहको सरकार मध्यप्रदेश संघीयताको बलियो आधार भएको, संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनीहरूको जोड छ।
कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्था नै संघीय शासन व्यवस्था भएको भन्दै जनताको सेवकको रूपमा जनप्रतिनिधि रहेकाले सेवा भावले काम गर्नुपर्ने धारणा राखे। ‘जनताको शासन हो। यहाँ जनता नै जनार्दन हुन्,’ उनले भने, ‘जनभावनाअनुसार नै काम-कारबाही अघि बढ्नुपर्छ।’
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बिचमा प्रदेशलाई अब्बल बनाउन सक्ने गरी लुम्बिनी प्रदेशले उदाहरण दिन सफल भएको जिकिर गरे।
प्रदेश तहमा अझै धेरै कानुनहरू तर्जुमाको चरणमा रहेको, संघीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा संघीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको भनाइ उनको छ।
सभामुख तुलाराम घर्तीमगरले प्रदेश तह संघीयताको नयाँ संरचना भएकाले यसको स्थायित्वको लागि सबैले प्राथमिकतामा राख्नुपर्ने आवश्यक रहेको बताए। ‘वास्तविक संघीयताको अभ्यास गर्ने थलो प्रदेश तह हो,’ उनले भने, ‘संघीय शासन प्रणालीलाई वास्तविक रूपमा आत्मसात गर्न जरुरी छ।’
कांग्रेसका दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताए। ‘गाली हामीले खानुपर्ने, अधिकार सिंहदरबारमा राख्ने ‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो। तर, अझै अधिकार माथि नै रह्यो।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने धारणा उनको छ।
प्रतिपक्ष दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको बिचमा साझा प्रतिबद्धता चाहिने बताए। पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफूलाई अब्बल साबित गर्न अझै ऐतिहासिक कामहरूलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे।
एमाले संसदीय दल उपनेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए। प्रदेश स्थापना दिवसमा ११ वटा विभिन्न झाँकीहरू प्रदर्शन गरिएका थिए। जसमध्ये शीतगंगा नगरपालिकाको सोरठी भैलो, झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हासिल गरेका थिए।