बाँकेको कोहलपुर नगरपालिकामा अवस्थित नेपाल एपिएफ स्कुलले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानव स्राेत विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।
विभिन्न आरोह–अवरोह पार गर्दै शैक्षिक सत्र २०८० को बिएलईमा विद्यालयले कोहलपुर नगरपालिकामा सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा उनले शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई विशेष धन्यवाद दिए। विद्यार्थीहरूले आ–आफ्नो सदनमा मार्चपास गरी प्रमुख अतिथिलाई सलामी दिएका थिए। विद्यार्थीहरूले राष्ट्रभक्ति गीत र विभिन्न सांस्कृतिक झलक देखिने नृत्यहरू प्रस्तुत गरेका थिए।
सो अवसरमा विद्यालय स्मारिका ‘ओपन होराइजन’ नामक पुस्तकको पहिलो अंकसमेत विमोचन गरिएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बालबालिकाको इच्छा, चाहना र मनोविज्ञान बुझी पठनपाठन गराउनुपर्ने बताए।
विद्यालयको जन्मोत्सवको अवसर पारेर प्रमुख अतिथिले पाँच सयजनाको क्षमता रहेको डाइनिङ हलको समेत उद्घाटन गरिएको छ। विद्यालयका उत्कृष्ट शिक्षक तथा सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्रसहित सम्मान पनि गरिएको विद्यालयका शिक्षक हरिप्रसाद देवकोटाले जानकारी दिए।