११ पटकसम्म म्याद थपेर ठेकेदारलाई सुविधा, तर अझै काममा ढिलासुस्ती गरेपछि सरकारले ठेक्का नै तोड्ने निर्णय गर्दा अदालतबाट थमौती
१३ महिनामा सक्ने गरी काठमाडौंको चोभारमा बेग्लाबेग्लै शीतभण्डारसहितको फलफूल र फूलको थोक तथा खुद्रा बजार निर्माण आठ वर्ष सकिँदा पनि अलपत्र अवस्थामा छ । ११ पटकसम्म म्याद थपको सुविधा पाएर पनि काममा ढिलासुस्ती गरेपछि सरकारले ठेक्का नै तोड्ने निर्णय गरेकोमा अदालतबाट थमौती पाएको ठेकेदारले तीन महिनायता त काम पूर्ण रूपमा रोकेको छ । महादेव खिम्ती निर्माण सेवा, अनक कन्स्ट्रक्सन र बंगलादेशको साम्सोजामोन कन्स्ट्रक्सनले संयुक्त (जेभी) रूपमा ३५ करोडको यो ठेक्का ०७३ असोजमा हात पारेका थिए । महादेव खिम्ती निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी हो ।
उपत्यकामा बढ्दो फलफूलको मागलाई धान्न कालीमाटी बजारलाई धौ–धौ भएपछि केही हिस्सा चोभारमा स्थानान्तरण गर्ने योजनामा यो ठेक्का सम्झौता भएको थियो । बजार विस्तार गर्न लागिएको २२ रोपनी जग्गा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकै हो । तर, १३ महिनामा सक्ने गरी ठेक्का लिएका ठेकेदारले आठ वर्षसम्म पनि काम नसकेपछि गत ३१ असोजमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ठेक्का रद्द गरेको थियो । त्यसयता निर्माण ठप्प छ ।
उपत्यकामा बढ्दो फलफूलको मागलाई धान्न कालीमाटी बजारलाई धौ–धौ भएपछि केही हिस्सा चोभारमा स्थानान्तरण गर्ने योजनाका साथ ०७३ असोजमा यो संरचना निर्माणको ठेक्का सम्झौता भएको थियो । कालीमाटीमा हाल भइरहेको फलफूल र फूलको थोक तथा खुद्रा व्यापार चोभारमा स्थानान्तरण गर्ने लक्ष्यअनुसार यो आयोजना थालिएको हो । तर, आठ वर्ष तीन महिना सकिँदासम्म अझै १५ प्रतिशत काम बाँकी छ । बजार क्षेत्रका लागि रहेको २२ रोपनीमध्ये भवनले ओगटेको क्षेत्रफलबाहेकमा ढलान गर्न बाँकी छ । त्यस्तै, दुई ठुला लिफ्ट जडान, गार्डेनिङलगायतको काम पनि बाँकी छ । संरचना तयार भएपछि कालीमाटी फलफूल तथा बजार विकास समितिलाई सञ्चालनको जिम्मा दिने यसअघि नै निर्णय भइसकेको छ ।
समितिका कार्यकारी निर्देशक डा. महादेवप्रसाद पौडेलले संरचना निर्माणले पूर्णता पाउने दिन कुरेर बसेको बताए । ‘कालीमाटीको चापलाई कम गर्न चोभारमा बजार बनाइएको हो, तर आठ वर्षसम्म सकिएको छैन, कहिले सकिने पनि टुंगो छैन,’ उनले भने, ‘त्यहाँ संरचना तय भए यहाँको चाप कम हुन्थ्यो भन्ने अपेक्षा छ ।’
कृषिमन्त्री रामनाथ अधिकारी भन्छन्–
पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएपछि मन्त्रालयका तर्फबाट गत ३१ असोजमा ठेक्का रद्द गरिएको थियो । तर, ठेकेदार पक्ष अदालत पुगेपछि ठेक्का रद्द नगर्न आदेश आएको छ । अब अदालतबाट अन्तिम आदेश आएको एक–दुई महिनाभित्रै संरचना निर्माणलाई पूर्णता दिने हाम्रो लक्ष्य छ । ८५ प्रतिशत काम सकिएको छ । भवनहरू जुन प्रयोजनका लागि बनाइएको हो, त्यसकै लागि प्रयोगमा ल्याइनेछ । यो संरचना सञ्चालनमा आएपछि कालीमाटी बजारले अहिले भोगिरहेको चाप पनि कम गर्न मद्दत मिल्छ ।
कृषिमन्त्री रामनाथ अधिकारीले २१ भदौमा संरचनाको अनुगमन गर्दै चाँडो काम सकेर दसैँअगाडि नै सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । तर, पटक–पटक म्याद थप्दासमेत संरचना निर्माण नसकिएपछि कृषि मन्त्रालयले ३१ असोजमा सम्झौता तोडेको थियो । तर, समय थप भए पनि लागत नबढ्ने सर्तमा निर्माण थालिएको र ठेक्का तोड्दा अन्याय भएको दाबीसहित निर्माण कम्पनीले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्नू भन्ने आदेश दिएकाले अहिले निर्माण कार्य रोकिएको र छलफल अघि बढिरहेको मन्त्री अधिकारीले बताए ।
‘अब थोरै काम मात्र बाँकी छ, त्यसैले छिटो सकेर सञ्चालनमा ल्याउन हामी प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘संरचना निर्माणका लागि मध्यस्थता गरी पाऊँ भनेर अदालतमा ठेकेदार पक्षबाटै निवेदन परेको भन्ने सुनेको छु । अब चाँडै यस विषयमा एउटा निष्कर्षमा पुग्छौँ । अदालतबाट निर्णय आएको १–२ महिनाभित्रै निर्माण कार्य सकेर बजार सञ्चालनमा ल्याउँछौँ ।’
विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को लगानी रहने गरी ०७३ असारमा ठेक्का आह्वान भएकोमा सोही वर्ष असोजमा ठेक्का सम्झौता भएको थियो । तोकिएको अवधि १३ महिनामा काम नसकेपछि सरकारले पटक–पटक म्याद थपेको थियो । पछिल्लोपटक १३ चैत ०८० मा ११औँपटक म्याद थपेको थियो । यसपटक म्याद थप्दा ०८१ भदौ मसान्तभित्र निर्माण सक्नुपर्ने सर्त थियो । तर, यो सर्त पनि ठेकेदार कम्पनीले पालना गरेन ।
फलफूल र फूलका लागि बेग्लाबेग्लै शीतभण्डारसहित भवन तयार, के–के छ त्यहाँ ?
चोभार फलफूल तथा फूल बजारमा फूलको थोक तथा खुद्रा कारोबारका लागि पाँचतले भवन निर्माण गरिएको छ । यहाँ फूलगोदामका लागि दुई दर्जन बढी फराकिला कोठा बनाइएका छन् । त्यस्तै, खुद्रा कारोबारका लागि भुइँतलामा सातवटा सटर छन् । फूललाई चिस्याएर राख्नका लागि एउटा शीतभण्डारसमेत बनाइएको छ । शीतभण्डारको कोठा चिस्याउन एयर कन्डिसनर र विद्युतीय उपकरणसहितको सामग्री पनि जडान भइसकेको छ ।
त्यस्तै, यहाँको सबैभन्दा महत्वपूर्ण संरचना फलफूल कारोबार गर्ने भवन हो । पाँचतले भवनमा फलफूल कारोबार गर्न ८० स्टल बनाइएका छन् । भुइँतलाका केही स्टलबाट खुद्रा कारोबारसमेत हुनेछन् । फुलफूललाई चिस्याएर राख्ने शीतभण्डारका लागि २ कोठा तयार गरिएको छ । त्यस्तै, काँचो फलफूललाई पकाउनका लागि माथिल्लो तलामा अलग्गै अँध्यारो कोठासमेत तयार छ । प्रशासनिक कामकाजको प्रयोजनका लागि एउटा बेग्लै भवन पनि तयार छ ।
लगानी गर्ने प्याक्टको अवधि सकियो, तर निर्माण सकिएन
विश्व बैंकले ०७५ देखि अनुदान रोकेपछि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को अवधि सकिएको थियो । केही ‘रहल–पहल’ काम सकेर ०७६/७७ देखि कृषि मन्त्रालयले औपचारिक रूपमा प्याक्ट बन्द गरेको थियो । लगानी गर्ने परियोजना बन्द भइसक्दासमेत चोभार फलफूल तथा फूल बजारको पूर्वाधार भने तयार भएको छैन । प्याक्ट बन्द भएपछि संरचना कसले नियमन गर्ने भनेर प्रश्न पनि उठेको थियो । त्यसपछि महालेखापरीक्षकको कार्यालय र अर्थ मन्त्रालयको सुझावमा कृषि मन्त्रालयले नै सो परियोजना सुपरिवेक्षण गर्दै आएको छ । ठेकेदारलाई दिनुपर्ने भुक्तानीबापतको रकम पनि प्याक्टमार्पmत कृषि मन्त्रालयमा सारिएको छ । मन्त्रालयका एक अधिकारीले काम सकिएको ८५ प्रतिशतबराबरको भुक्तानी पनि भइसकेको बताए । ‘जति काम सकियो, त्यति भुक्तानी भइसकेको छ,’ ती अधिकारीले भने ।
कति काम छ बाँकी ?
भवनको अगाडि र पछाडिपट्टि फलफूल ओसार्न ठुलो क्षमताका दुईवटा ‘लिफ्ट’ जडान गर्न बाँकी छ । बजार क्षेत्रका लागि रहेको २२ रोपनीमध्ये भवनले ओगटेको क्षेत्रफलबाहेकमा ढलान गर्न पनि बाँकी छ । ढलानका लागि गिटी बालुवा थुपारेर राखिएको छ । त्यस्तै, गार्डेनिङको काम पनि अधुरै छ ।