मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ १० बिहीबार o५:५९:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : घोडामालिक र साथीहरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार o५:५९:oo

सहरबाट केही पर रहेको घोडापालन केन्द्रमा केही घोडा थिए । टाढाबाट हेर्दा सबै घोडा समान देखिन्थे । तिनमा खोट देखिन्नथ्यो । तर, नजिकबाट नियालेर हेर्दा भने एउटा घोडा दृष्टिविहीन थियो । दृष्टिविहीन भए पनि केन्द्रका मालिकले उसलाई अन्य घोडालाई भन्दा बढी नै माया गरेर पालेका थिए । उसको खानपिन र रेखदेखमा कुनै कमी हुन दिएका थिएनन् । 

उनले त्यस घोडालाई समस्या नहोस् भनेर अर्को एउटा घोडाको घाँटीमा घन्टी झुन्ड्याइदिएका थिए । उसको घाँटीको घन्टीको आवाज पछ्याउँदै दृष्टिविहीन घोडा साथीको नजिक पुग्थ्यो र चउरमा चरेर आफ्नो पेट भर्थ्यो । घन्टीवाला घोडा पनि साथीलाई एकछिन छाड्दैनथ्यो । ऊ आफूसँगै आइरहेको छ कि छैन भनेर विशेष ध्यान दिन्थ्यो । साथी कतै टाढा छुटेको रहेछ भने ऊ घाँटी हल्लाएर घन्टी बजाउँदै उसलाई बोलाउँथ्यो र साथी नआइपुगुन्जेल पर्खिरहन्थ्यो । एकपटक मालिकका केही साथी सहरबाट घोडचढी सिक्न केन्द्रमा आए । उनीहरूले केही दिन केन्द्रमै बसेर घोडचढीको अभ्यास गरे । यस क्रममा त्यो दृष्टिविहीन घोडालाई केन्द्रका मालिकले त्यसरी हेरचाह गरेको देख्दा उनीहरू छक्क परे । उनीहरूले मित्रलाई प्रश्न गरे– मित्र, तिमीले यो दृष्टिविहीन घोडालाई किन ज्वाइँलाई जस्तो खुवाएर पालिरहेका छौ ? यसलाई कतै लगेर छाडिदिन सक्दैनौ ?

आफ्ना साथीहरूको प्रश्न सुनेर उनी एकछिन गम्भीर भए र भने– तिमीहरूले ठिक भन्यौ । म यसलाई कतै लगेर छाडिदिन त सक्छु । तर, यसले आफू सद्दे छँदा मलाई धेरै सहयोग गरेको छ । म त्यसको बदलामा कृतघ्न बन्न सक्दिनँ । फेरि हामी बिरामी भयौँ, दृष्टिविहीन भयौँ या कुनै फरक क्षमता भएको अवस्थामा पुग्यौँ भने पनि भगवान्ले त हामीलाई कहिल्यै छाड्दैनन् । जहिल्यै हाम्रो ख्याल राख्छन् । त्यसैले, म पनि कसरी यसलाई कतै लगेर छाडिदिन सक्छु ? उनको जवाफ सुनेर मित्रहरू मौन भए ।