मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
२o८१ माघ ७ सोमबार १३:४१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकी करिडोरको बागलुङखण्ड : पर्याप्त बजेट छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १३:४१:oo

भारत-चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । १४ वर्ष अगाडि सुरु भएको करिडोर आयोजना हालसम्म बागलुङखण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०६७/६८ देखि सुरु भएको आयोजनाअन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका- ६ र बागलुङको जैमिनी नगरपालिका- ८ को सिमाना पालुङ खोलादेखि मालढुंगासम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ ।

उक्त खण्डमा दुईवटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर अरुण खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रेका लागि तयारी भएको भन्दै अहिले  चिसोले गर्दा काम रोकिएको उनको भनाइ छ ।

पालुङ खोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुंगासम्मको १० किलोमिटर खड्का/कृष्ण/बिएन जेबीले जिम्मा लिएर काम गरिरहेको इन्जिनियर खत्री बताउँछन् । उनले भने, ‘बागलुङको दुईवटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुन सकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि कामचाहिँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रका लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुनेछ ।’

करिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ किलोमिटर पर्छ । तीन देश जोड्ने करिडोरले बागलुङमा ठुलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवर्द्धन ठूलो टेवा पुर्‍याउने उनको भनाइ छ ।

‘करिडोर एउटा देशमा मात्रै छैन, यसले तीनवटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठुला सहर पोखरा, बुटवल र भैरहवासँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रूपमा विकास हुँदै गएको छ,’ उनले भने, ‘अब गाउँमा उत्पादन भएका वस्तु सहज रूपमा बजारीकरण हुनेछन् भने व्यावसायिक वातावरण तयार भएर बसाइसराइँ रोकिनेछ, करिडोर पैसा बोकेर आएको छ, अब यसलाई समात्न सक्ने क्षमता हामीहरूले राख्नुपर्छ ।’

नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको करिडोर बागलुङको मालढुंगा २४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइ दिएको छ । रासस