उपसभामुख इन्दिरा रानाले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिँदै आएको बताएकी छिन्।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंको ठमेलमा आइतबार आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबिचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेको उल्लेख गरिन्।
‘नेपाल र चीनबिच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ। हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ,’ उनले भनिन्, ‘हामी हाम्रा दुई देशबिचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौँ र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ।’
उपसभामुख रानाले नेपाल सधैँ ‘एक चीन नीति’को बलियो समर्थक रहँदै आएको पनि दोहोर्याइन्। ‘नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ,’ उनले भनिन्।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःसर्त सम्मानको नेपालले सधैँ कदर गर्ने उपसभामुख रानाको भनाइ थियो।
अर्को प्रसंगमा उनले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरूबिचको सम्पर्क विस्तारका लागि ‘ट्रान्स हिमालयन प्लेटफर्म’को कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन्।
सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व राखेको बताउँदै यसले दुई देशबिचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने विश्वास व्यक्त गरे।