मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
२o८१ माघ ६ आइतबार १६:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्कुलबसको ठक्करबाट एकैपरिवारका तीन घाइते

थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १६:३७:oo

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिराहाको लहान नगरपालिका– १२ बाटिका होटेलनजिकै आइतबार बिहान मोटरसाइकललाई स्कुलबसले ठक्कर दिँदा एकैपरिवारका तीनजना घाइते भएका छन्।

बसको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका– ६ देउरीका करिब ४० वर्षीय किरण थापा, उनकी श्रीमती करिब ३६ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजाकुमारी थापा घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार दुर्घटनामा घाइते भएका तीनैजनालाई तत्काल उद्धार गरी लहानस्थित धमिनी हस्पिटलमा उपचार गराइएको भए पनि अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। गम्भीर घाइते भएका उनीहरूलाई दिउँसो सवा १२ बजेतिर कैलाश एयरको हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको उनले बताए।

प्रहरीका अनुसार बा.१८प ८३२५ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ आइरहेका वेला पश्चिमतर्फ जाँदै गरेको प्र २–०१–०० १ प ७९ नम्बरको लहानस्थित संकल्प विद्याआश्रमको बसले बिहान करिब साढे ९ बजेतिर ठक्कर दिएको हो। बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको जानकारी दिँदै प्रहरीले चालक दीपेशकुमार चौधरीसहित बस नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिराहाको मिर्चैया नगरपालिका– ३ मिर्चैयास्थित स्वस्तिक पाठशालामा लेखापालको रूपमा कार्यरत थापा श्रीमती र छोरीसहित घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।
 

छुटाउनुभयो की ?