बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले गाँजा खेतीलाई वैध गर्नुपर्ने बताएका छन्। बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशन उद्घाटन गर्दै उनले संघीय सरकारले नै कानुन निर्माण गरेर गाँजाखेतीलाई वैध बनाउनुपर्ने बताएका हुन्।
उनले गाँजालाई वैधानिकता दिने विषयमा प्रदेश सरकारले पनि पहल गर्ने बताए। उनले मकवानपुरका विकट गाउँका जनताले विकल्प नपाउँदा गैरकानुनी मानिएको गाँजाखेती गर्न बाध्य भएको बताए। आवश्यकताको आधारमा गाँजालाई वैधता दिन सबैले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ। ‘मैले पनि मकवानपुरका विभिन्न पालिकामा पुगेर हेरे, यहाँका जनताहरूसँग विकल्प नहुँदा गाँजाखेती गरेको मलाई पनि लागेको छ। त्यसकारण संघीय सरकारले नै गाँजालाई वैधता दिने विषयमा ऐन कानुन निर्माण गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘आवश्यकता परे प्रदेश सरकारले पनि त्यसतर्फ भूमिका खेल्न सक्छ।’
उनले कार्यक्रममा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलातर्फ इंगित गर्दै संघीय संसदमा गाँजालाई वैधता दिने विषयमा पहल गर्न आग्रह पनि गरे। मुख्यमन्त्री लामाले नागरिकको आवश्यकताअनुसारको विकास र गुणस्तरीय सेवा सहज रूपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व भएको उल्लेख गर्दै वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको टिप्पणी पनि गरे। उनले देशका दुई ठुला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले जनताको आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्नुपर्ने बताए। त्यसका लागि प्रदेश सरकार सघाउन सधैँ तत्पर रहेको दाबी गरे। ‘हामीले आन्तरिक समस्या र कानुनी अड्चन फुकाएर नागरिकको आवश्यकताअनुसारको विकासका काम गर्नुपर्छ। विकट क्षेत्रका नगरिकलाई विकासमा जोड्ने गरी प्रदेश सरकारले योजना तयार पार्छ, त्यसलाई संघीय र स्थानीय सरकारले सहयोग गरून्,’ उनले भने।
उनले राक्सिराङको विकासका लागि चेपाङ समुदायको विकास र उत्थानसँग जोड्नुपर्ने बताए। त्यसका लागि राक्सिराङलाई संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचनपछि राजनीतिक विचारभन्दा माथि रहेर काम गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय तहका प्रमुख-उपप्रमुखले संघ तथा प्रदेश सांसदसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए।