नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा परी मुगु जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की घाइते भएका छन्।
दुम्कीबासबाट कावासोतीतर्फ आउँदै गरेको खाली टिपर र काठमाडाैंबाट मुगुतर्फ जाँदै गरेको ५० वर्षीय कार्की सवार सुमो गाडी पूर्व–पश्चिम राजमार्गको कावासोती– १६ चालिसकिलो जंगलमा एक–आपसमा ठक्कर खाएको हो।
बागमती प्रदेश ०६–००१ ख ०२३१ नम्बरको टिपर र कार्की सवार बा.१झ ९११६ नम्बरको सुमो दुर्घटनामा परेका हुन्। कार्कीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।
उनीसँगै चालक मुगुको सोरु– ३ बस्ने २० वर्षका भविरा कार्कीसमेत घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए। उनको पनि अवस्था मध्यम रहेको र दुवैजनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।