मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २५ बिहीबार १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई कम्बल वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १६:३३:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरूप कम्बल वितरण गरेकी छिन्।

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले बिहीबार धुलिखेलमा आयोजना गरेको कार्यक्रममा मन्त्री डा. राणाले महासंघका तर्फबाट उपलब्ध गराइएका एक हजार ९० कम्बल ६ वटा पालिकाका गर्भवती तथा सुत्केरीलाई हस्तान्तरण गरेकी हुन्।

यसै वर्षको भारी वर्षाका कारण काभ्रेपलाञ्चोकका रोशी खोला, बेथानचोकलगायतका क्षेत्रमा व्यापक मात्रामा क्षति पुगेको थियो। बाढीले घर बस्ती बगाउँदा अप्ठ्यारोमा परेका गर्भवती र तीन महिनासम्मका सुत्केरीका लागि स्थानीय जनप्रतिनिधिमार्फत उक्त राहत उपलब्ध गराइएको हो।

सो अवसरमा मन्त्री डा. राणाले गत वर्षातको भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोले देशैभरि अकल्पनीय रूपमा मानवीय तथा भौतिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग र राहत उपलब्ध गराउने विषयमा सरकारले काम गरिरहेको बताइन्।

मन्त्री डा. राणाले नेपाल जलवायु परिवर्तनको चपेटामा परिरहेको र यस वर्षको अकल्पनीय वर्षा र बाढी त्यसैको प्रतिफल भएको बताइन्। उनले आगामी दिनमा यस्ता सम्भावित जोखिमको सामना गर्नुपर्ने अवस्थामा नेपाल रहेको विषयमा आफूले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमार्फत विश्वको ध्यानाकर्षण गराइरहेको उल्लेख गरिन्।