जय ट्रफी मेन्स एलिट कपअन्तर्गत बुधबारदेखि सुरु दुई छुट्टाछुट्टै खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बलियो अवस्थामा देखिएका छन् । पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मीले बागमती प्रदेशविरुद्ध १५२ रनको अग्रता लिएको छ भने मधेश प्रदेशविरुद्धको खेलमा नेपाल प्रहरी ४५ रनले अगाडि छ ।
जारी प्रतियोगिताको तेस्रो खेलमा मधेश प्रदेशले पहिले ब्याटिङ गर्दै ४२.४ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो । उसका लागि मयन यादवले सर्वाधिक ५९ रनको पारी खेले भने अभिशेख तिवारीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मधेशलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि गुल्सन झाले पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई विकेट लिए । साथै श्रवण यादव र ललित राजवंशीले एक–एक विकेट लिए ।
जवाफमा नेपाल पुलिस क्लबले पहिलो दिनको खेल सकिँदासम्म ४० ओभरमा तीन विकेटको क्षतिमा १७४ रनको योगफल तयार पारेको छ । उसका लागि ओपनरद्वय कुशल भुर्तेल र दिलीप नाथले क्रमशः ६३ र ४० रनको योगदान दिए । साथै गुल्सन झाले २० रन बनाए । अमित श्रेष्ठ पहिलो दिन ३४ रनमा अविजित छन् । मधेशका लागि हरिशंकर साहले दुई र अभिशेख तिवारीले एक विकेट लिए । पुलिसले हिजोको खेललाई आज पनि निरन्तरता दिनेछ ।
साथै बुधबार नै सुरु प्रतियोगिताको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले पूरै ६० ओभर खेलेको छ । पहिलो पारीमा ६० ओभर खेलेपछि पारी समाप्त हुने प्रतियोगिताको नियम छ । आर्मीले पहिलो दिन ६० ओभर खेल्ने क्रममा पाँच विकेटको क्षतिमा २७६ रनको बलियो योगफल तयार पारेको छ ।
आर्मीका लागि इमरान शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले । उनीहरूले क्रमशः ७२ र ५३ रन बनाए । साथै तृतराज दासले ४४, भीम सार्कीले ३२ र कुशल मल्लले ३५ रनको योगदान दिए । बागमती प्रदेशका लागि विपिन आचार्यले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको बागमतीले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२४ रन बनाएको छ । बागमती आर्मीभन्दा अझै १५२ रनले पछाडि छ । उसका लागि शुभ कंसकारले ३४ रन बनाए भने उत्तम मगरले २८ र ऋत गौतमले २१ रन बनाए । दुवै खेल आज पनि जारी रहनेछन् ।