महोत्तरीका १५ स्थानीय तहमध्ये १४ ले बढ्दो शीतलहरबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने भन्दै सामुदायिक र संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएको छ। बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिएको हो। हुस्सु र शीतलहरले बालबालिकालाई विद्यालय आउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै जाडो बिदा दिएका हुन्।
गौशाला नगरपालिकाले भने हालसम्म बिदा नदिएको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुरले बताएका छन्। अन्य पालिकाले अवस्थाअनुसार २२ पुसदेखि १ माघसम्म बिदा दिएका हुन्।
मनरा सिस्वा नगरपालिकाले २४ देखि २९ पुससम्म, पिपरा गाउँपालिकाले २२ देखि २९ पुससम्म, महोत्तरी गाउँपालिकाले २४ देखि २६ पुससम्म, एकडारा गाउँपालिकाले २४ पुसदेखि १ माघसम्म, जलेश्वर नगरपालिकाले २३ देखि २९ पुससम्म, भंगहा नगरपालिकाले २४ देखि २९ पुसम्म, मटिहानी नगरपालिकाले २२ देखि २९ पुससम्म, लोहारपट्टी नगरपालिकाले २२ पुसदेखि १ माघसम्म, बल्वा नगरपालिकाले २३ देखि २९ पुससम्म, सम्सी गाउँपालिकाले २४ देखि २९ पुससम्म, सोनमा गाउँपालिकाले २४ देखि २९ पुससम्म, औरही नगरपालिकाले २५ देखि २९ पुससम्म, रामगोपालपुर नगरपालिकाले २४ देखि २९ पुससम्म र बर्दिवास नगरपालिकाले २५ देखि २९ पुससम्म जाडो बिदा दिएको छ।
केही पालिकाले शीतलहरले दैनिक ज्यालादारी गर्ने र विभिन्न कारण घरबाट निस्कनुपर्नेका लागि विभिन्न चोक तथा बस्तीमा सामूहिक घुर(आगो ताप्ने) व्यवस्था गरेको छ। बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिकासहित केही स्थानीय तहमा दाउरा बालेर घुरको व्यवस्था सुरु भैसकेको छ भने केही पालिकामा दाउराको जोहो भैरहेको सम्बन्धित पालिकाले जनाएका छन्।