वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।
सप्तरीको विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मंगलबार पक्राउ गरिएको केन्द्रीय प्रहरीको समाचारकक्षले जनाएको छ।
अभियुक्त कृष्णले पोल्यान्ड पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रु. ७२ लाख ४८ हजार १५० र राजेशले रु. आठ लाख ९० हजार लिएर सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौं महानगरपालिका–३१ बाट र राजेशलाई टेकुबाट पक्राउ गरेको हो। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।