पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
‘लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीहरुले धैर्य र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ,’ उनले भने, ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरू देखा पर्न थालेका छन् । लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्द्धनमार्फत स्वरोजगारी र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने वेला आएको छ ।’
लामो राजनीतिक संघर्ष र ठुलो बलिदानपछि देशमा जनताको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको उल्लेख गर्दै उनले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताए । सामाजिक न्यायमा आधारित आर्थिक समृद्धिले मात्रै जनताको जीवनस्तर माथि उठाउन सम्भव भएको स्पष्ट गर्दै उनले देशको सम्पूर्ण ध्यान आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा केन्द्रित गर्ने वेला आएको बताए ।
अध्यक्ष प्रचण्डले आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिलाई महत्वपूर्ण राष्ट्रिय एजेन्डको रूपमा स्थापित गरेर यसलाई राज्यको अभियानकै रूपमा अघि बढाएको बताए । ‘मैले सरकारको नेतृत्व लिँदै गर्दा नेपालको अर्थतन्त्र कमजोर मात्र थिएन, विभिन्न आर्थिक संकट झेलिरहेका देशहरूसँग तुलना गर्दै नेपाल पनि आर्थिक संकटमा जाँदै छ भनेर एक प्रकारले आतंक नै खडा गरिएको थियो,’ उनले भने, ‘तर, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै जनतामा नयाँ आशाको जागृत गरेर आर्थिक क्षेत्रमा संरचनागत सुधारको प्रयास थालेपछि अर्थतन्त्र बिस्तारै लयमा फर्कन थाल्यो र अहिले आशालाग्दो गरी यसले गति लिइरहेको छ । क्रमशः आर्थिक सुधारका सकारात्मक परिणाम पनि आउन थालिसकेका छन्।’