जिल्लाको बिगु गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा अत्यावश्यक सेवासमेत ठप्प भएको छ। करिब चार महिनादेखि कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा अत्यावश्यक सेवाहरू ठप्प भएको छ।
आर्थिक अधिकार प्राप्त कार्यालय प्रमुख नै नहुँदा अत्यावश्यक सेवाहरू औषधि वितरण तथा अन्य जरुरी र महत्त्वपूर्ण सेवा रोकिँदा स्थानीयवासी मारमा परेका छन्। कार्यालय प्रमुख नहुँदा आर्थिक कारोबार नै बन्द भएपछि औषधि खरिद वितरणमा समस्या भएको स्वास्थ्य शाखाका संयोजक रत्नबहादुर थामीले बताए। बिगु गाउँपालिकामा नियमित औषधि सेवन गर्ने दीर्घरोगी दुई सय ७० जना छन्। उनीहरूलाई उपलब्ध गराउनुपर्ने ६० प्रतिशत औषधि अभाव भएको छ।
बजेट अभावकै कारण औषधि उपचारबापत १० देखि २५ हजारसम्म उपलब्ध गराउनुपर्ने २३ जना विपन्न बिरामीलाई गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउन सकेको छैन। यस्तै, मासिक ५ हजार उपलब्ध गराउनुपर्ने मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, स्पाइनल इन्जुरी भएका र क्यान्सरका बिरामी गरी ४५ जनालाई पनि आर्थिक सहयोग गर्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका शाखाका संयोजक थामीको भनाइ छ।
त्यसबाहेक पनि गाउँपालिका कार्यालयमा हुने निरन्तर प्रशासनिक कामसमेत कार्यालय प्रमुख नहुँदा अलपत्र परेको छ । कार्यालयमा टेलिफोन इन्टरनेटजस्ता सामान्य कामका समेत भुक्तानी हुन नसक्दा समस्या भएको छ ।
आर्थिक वर्षको मध्य भइसक्दा पनि अहिलेसम्म कुनै योजना सम्झौता हुन सकेका छैनन्। गाउँपालिकामा आन्तरिक द्वन्द्वले कार्यपालिका बैठक बस्न नसकेको र प्रमुख प्रशासकीय अधिकृतसमेत लामो समयदेखि नभएकाले विकास–निर्माणसँग सम्बन्धित कामको भुक्तानीमा समस्या भएको, दीर्घ रोगीहरूलाई औषधि वितरणमा समस्या देखिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरूले तत्काल समाधान खोज्न पालिकासँग माग गरेका छन्।
उनीहरूले आगामी २४ पुसभित्र कार्यपालिकाको बैठक बोलाई पुस मसान्तसम्म हिउँदे गाउँ अधिवेशन सम्पन्न गरी पालिकामा देखिएका समस्या समाधानमा पहल गर्न आग्रह गरेका छन्। समस्या समाधानमा पालिकाले चासो नदिए १ माघबाट आठवटै वडाध्यक्षले वडा कार्यालयबाट दिँदै आएको सेवा बन्द गर्ने चेतावनी दिएका छन्।
गाउँपालिकाका कार्यपालिका सदस्य एवं प्रवक्ता लोकबहादुर नेपालीले ०८१-८२ को गाउँसभा सकिएयता गाउँकार्यपालिकाको नियमित बैठक बस्न नसकेको बताए। गाउँ कार्यपालिकाको नियमित बैठक नभएकै कारण गत आर्थिक वर्ष ०८०-८१ मा वडा तथा पालिकाको योजनाको काम सम्पन्न भै आर्थिक वर्षको अन्तमा भुक्तानी हुनुपर्ने तीन करोड ५० लाखभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको कार्यपालिका सदस्यहरूले बताएका छन्।
बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओलीले पनि पालिका अहिले समस्यामा रहेको स्वीकार गरे। त्यसको लागि राजनीतिक दल, संघीय सरकारलगायत सबै नै जिम्मेवार रहेको बताए। गाउँ कार्यपालिका बैठक लामो समयदेखि नभएको तर त्यसको लागि आफू जिम्मेवार नरहेको पालिका अध्यक्ष ओलीको भनाइ छ।
बैठक राख्न खोज्दा केही राजनीतिक दलले वडा अध्यक्षहरूलाई बैठकमा नजानु भन्दै निर्देशन दिने गरेकोले नियमित बैठकमा समस्या भएको पालिका अध्यक्ष ओली बताउँछन्। केहीले आफू र उपाध्यक्षबिच असमझदारी रहेको हल्ला चलाए पनि त्यसमा सत्यता नभएको अध्यक्ष ओलीको दाबी छ।
प्रमुख प्रशासकीय अधिकृतको समस्या धेरै स्थानीय तहमा रहेकोले त्यसको समाधान संघीय सरकारले गर्नुपर्ने उनको भनाइ छ। पालिकामा देखिएको समस्या समाधानको लागि आफूले सबैसँग सल्लाह गरेर अघि बढ्ने अध्यक्ष ओलीले बताए।