महाकाली नदीको चार लेन पक्की पुल क्षेत्रको गाइडबण्ड (तटबन्ध) भत्किएको चार महिना बितिसक्दा पनि यसको पुनर्निर्माणको सुरसार समेत भएको छैन । गत भदौ तेस्रो साता महाकाली नदीमा आएको बाढीले पुल क्षेत्रको तीन सय मिटर तटबन्ध बगाएको हो ।
अब बर्खायाम सुरु हुन पाँच महिना मात्रै बाँकी छ । यो अवधिका भत्किएको तटबन्ध पुनर्निर्माण नभए महाकाली नदी गाउँ बस्तीमा पस्ने जोखिम छ । बाढीले त्यसबेला महाकाली पुलको उत्तरपूर्वतर्फ निर्माण भएको पोखरीको गाइडबण्ड बगाएको थियो । चाडैनै तटबन्ध पुनर्निर्माण नभए आगामी बर्खामा पुलको पहुँच मार्ग भत्काएर सिंङ्गै महाकाली नदी गाउँ पस्ने जोखिम छ ।
०७८ साल महाकालीमा आएको बाढीले भीमदत्त नगरपालिका–१२ ऐरीओदाली क्षेत्रमा पहुँचमार्ग भत्काएर गाँउ पसेको थियो । तीन बर्षअघि पुल पहुँचमार्ग भत्किएर नदी गाउँ पसेपछि भीनपा ११, १२ र १३ नम्बर वडा डुबानमा परेका थिए ।
स्थानीयले बर्खाअघि नै तटबन्ध निर्माणको माग गर्दै आएका छन् । विपत् जोखिममा परेका भीनपा ११, १२ र १३ वडाका जनप्रतिनिधि एवं स्थानीयले समयमै भुजेला खोलाको निकासदेखि भत्किएको तटबन्ध निर्माणमा जोड दिँदै आएका छन् ।
भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकास थापाले महाकाली नदी भुजेला खोलामा उल्टिएर आउने भएपछि भीमदत्त नगरका तीन वडा डुबानमा पर्दै आएको बताए । ‘ भुजेला खोलाको निकास महाकाली नदीको समानान्तर रुपमा बगाउनुपर्छ,’ उनले भने, ‘एकातिर निकास अर्कातिर तटबन्ध निर्माण गर्नुपर्छ ।’ भीनपा–१२ का वडाध्यक्ष भुपेन्द्र रावलले बर्षा अवागै भत्किएको तटबन्ध निर्माण नभए थप जोखिम निम्तिने बताए । ‘गत भदौँमा भत्किएको तटबन्ध अहिलेसम्म बनेको छैन,’ उनले भने, ‘हामी फेरि पनि जोखिममा पर्ने खतरा छ, उतिबेला पनि डुबानको चपेटामा परेका थियौँ ।’
भीनपा–१३ का वडाध्यक्ष रामबहादुर बोहरा(झक्कास)ंले वर्षातका बेला फेरि महाकालीको भेल गाउँ पस्ने भएकाले बाढीबाट बाच्न यथाशीघ्र काम बढाउनु पर्नेमा जोड दिए ।
तटबन्ध निर्माण गर्ने जिम्मेवारी पाएको महाकाली पुल निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले भने सरकारले चौथो भेरिएसन बारे समयमै निर्णय नदिँदा धेरै काम रोकिएको जनाएको छ । परियोजना व्यवस्थापक ईन्जिनियर किशोर पाण्डेयले तटबन्ध पुनर्निर्माण बारे भेरिएसनको प्रतिवेदन स्वीकृत हुन नसक्दा अघि नबढेको बताए । ‘०७८ सालमा गाइडबण्ड (तटबन्ध) थिएन्, नदीले सिधँै पहुँच मार्ग भत्काइदियो,’ उनले भने, ‘महकाली नदी पूर्वतिर भएर बग्दा तटबन्ध भत्किएको हो ।’
तटबन्ध पुर्ननिर्माणका लागि चार महिना लाग्ने भएकाले अहिलेसम्म भेरिएसन स्वीकृत नहुँदा अन्यौलमा परेको उनले बताए । ‘समयमै तटबन्ध निर्माण नहुँदा आउँदो वर्षातमा थप जोखिम निम्तिनेछ,’ उनले भने, ‘यसमा सरकार समयमै गम्भीर हुनुपर्छ ।’
महाकाली पुल योजना कार्यालयका सहायक सूचना अधिकारी सव ईन्जिनियर दुर्गादत्त अवस्थीले भत्किएको गाइडबण्डसमयमै पुर्ननिर्माण नभए आउँदो वर्षातमा थप जोखिम निम्तिने बताए । उनले तटबन्ध निर्माणका साथै गड्डाचौकीमा हिजोदेखि भएको सडक अवरोध खुलाउने प्रयास नभएर १३ करोड रकम फ्रिज हुने बताए । उनले निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोध बारे कार्यालयलाई जानकारी गराएसँगै अवरोध खुलाउन कार्यालयले सम्बन्धित व्यक्ति, निकायसंग पहल गर्ने बताए ।