नेकपा (माओवादी केन्द्र)ले पुस २१ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
प्रवक्ता सापकोटाका अनुसार केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेपछि सबै प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्ने छन्। त्यसैगरी, ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रचण्डले पेस गर्ने, संगठनात्मक प्रस्तावलगायतका विषयमा आगामी कार्ययोजना प्रस्तुत हुने सापकोटाले जानकारी दिए। बैठकले अन्तर्राष्ट्रिय परिस्थिति द्वन्द्वग्रस्त भइरहेको परिस्थितिमा राष्ट्रिय एकताको खाँचो परेको औँल्याएको छ।
साथै, सत्तारूढ गठबन्धनले संविधान संशोधनको विषय उठाइरहेको सन्दर्भमा माओवादीले अग्रगमन र जनताका अधिकारलाई अझ विस्तार गर्न संविधान संशोधन आवश्यक रहेको बताएको छ।
यद्यपि, संविधान संशोधनभन्दा पनि संविधानको वास्तविक मर्म र भावनाअनुसार यसको कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिएको उल्लेख गर्दै सापकोटाले भने, ‘हाम्राे पार्टीलाई के लागेको छ भने, संविधान जसरी इमानदारीपूर्वक कार्यान्वयन गरिनुपर्थ्यो, त्योअनुसार अभ्यास भएको छैन।’