मधेशी दलहरूबिच सहकार्यका लागि जसपा नेपाल सकारात्मक बनेकाे छ। आइतबार जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग गरेको संवादपछि जसपाले सकारात्मक संकेत दिएको हो।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेन्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन्। जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए। उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरूबिच सहकार्यका लागि तयार रहेको छ।
जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको र यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने नेता मिश्रले बताए। जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरूबिच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा. शिवजी यादवको संयोजकत्वमा तीनसदस्यीय वार्ता टोली गठन गरेको छ। जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन्।