मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १५ सोमबार
  • Thursday, 02 January, 2025
डेभिड स्मिथ
२o८१ पौष १५ सोमबार १o:१३:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ग्रिनल्यान्ड, पानामा र क्यानडा कब्जा गर्ने ट्रम्पको दाबी कति यथार्थपरक ?

अराजकतामा रमाउन माहिर ट्रम्पले विगतमा पनि नसोचिएका विषयलाई बहसको केन्द्र बनाएर यथार्थमा परिणत गरेको इतिहास छ

Read Time : > 4 मिनेट
डेभिड स्मिथ
नयाँ पत्रिका
२o८१ पौष १५ सोमबार १o:१३:oo

डोनाल्ड ट्रम्पले क्रिसमसको दिन आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो र श्रीमती मेलानियाको फोटोसहित शुभकामना दिँदै लेखे– ‘मेरी क्रिसमस’ । यतिसम्म त सबैले गर्छन् । तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति भने त्यत्तिमै रोकिएनन् । लगत्तै अर्को पोस्ट गर्दै ट्रम्पले लेखे ‘पानामा नहरलाई मायालु तर गैरकानुनी रूपमा सञ्चालन गरिरहेका चीनका अद्भूत सैनिकलगायत सबैलाई’ क्रिसमसको शुभकामना दिए । त्यतिले समेत उनलाई चित्त बुझेनछ । उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको मजाक उडाउँदै उनका देशलाई ५१औँ राज्यको रूपमा कब्जा गरिने बताए । त्यसपछि उनले ग्रिनल्यान्डका जनतालाई सम्बोधन गरे । ट्रम्पका अनुसार सो टापु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भएकाले कब्जा गर्न आवश्यक छ । टापुका नागरिकले अमेरिका आइदियोस् भन्ने चाहेको उनले दाबी गरे । चाहनाअनुरूप ‘हामी त्यहाँ आउनेछौँ !’ ट्रम्पले अन्त्यमा लेखेका छन् ।

यदि कुनै जड्याहा अंकलले क्रिसमस डिनरमा यस्तो दाबी गरेको भए मानिसहरूले उसलाई हाँसेर टारिदिने थिए । तर, माथिको दाबी गर्ने ७८ वर्षीय ट्रम्प चानचुने मानिस होइनन् । उनी केही साताभित्रै विश्वको सबैभन्दा शक्तिशाली सेनाको कमान्ड सम्हाल्दै छन्, जोसँग आवश्यक पर्दा आणविक हतियार प्रयोग गर्ने विशेष कोड हुनेछ । यस्तोमा ट्रम्पका भनाइलाई हल्का लिने कि गम्भीरतापूर्वक लिने वा दुवै रूपमा लिने भन्नेमा मानिस अन्योलमा परेका छन् । उसो त ट्रम्प सनक र अस्थिरताका लागि कुख्यात व्यक्ति हुन् । तर, केहीले भने ट्रम्प कतै उनले भन्ने गरेको ‘आर्ट अफ दी डिल(सम्झौताको कला)’मा आफ्नो हात माथि पार्ने प्रयासमा त छैनन् भन्ने आशंका गरिरहेका छन् । ट्रम्प देशभित्र मात्र होइन, विदेशमा पनि बलियो देखिने हेडलाइन निर्माण गर्न यस्ता तर्क दिइरहेको विचार राख्नेहरू पनि छन् ।

ग्रिनल्यान्ड किन्ने विचार ट्रम्पले पहिलोपटक व्यक्त गरेका होइनन् । यसअघि पहिलो कार्यकालमा पनि उनले सो विशाल रणनीतिक टापु खरिद गर्ने बताएका थिए । डेनमार्कको स्वामित्वमा रहेको सो क्षेत्रको खरिद गर्ने चर्चालाई धेरैले मजाकको रूपमा लिए । तर, ग्रिनल्यान्ड खरिदको ट्रम्पको प्रस्तावलाई डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसेनले ठाडै अस्वीकार गरेपछि ट्रम्पले डेनमार्कको पूर्वनिर्धारित भ्रमण रद्द गरेपछि मानिसहरू थप चनाखो भए । ट्रम्पले गत साता डेनमार्कका लागि अमेरिकी राजदूतको नामकरण गर्दा पुनः यो ग्रिनल्यान्ड खरिदको विषय उठाए । ‘ग्रिनल्यान्डको स्वामित्व र नियन्त्रण’ हुनु अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्त आवश्यक रहेको’ उनको दाबी छ । तर, यसपटक पनि डेनमार्कको स्वाशासित क्षेत्र ग्रिनल्यान्डका प्रधानमन्त्री मुटे एगेडले आफ्नो टापुमा ‘बिक्रीमा नरहेको’ टिप्पणी गरिसकेका छन् ।

ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा पनि अमेरिकातर्फ बढिरहेका समुद्री आँधीमा आणविक बम हान्नेदेखि कोभिड संक्रमित सुईले ठिक हुनेसम्म दाबी गरेका थिए। तर, पछिल्ला दाबी ट्रम्पले गहिरो अध्ययनपछि मात्र गरेका देखिन्छन्।

झट्ट हेर्दा यो सबै बेतुकको राजनीतिक नाटकजस्तो देखिन्छ । तर, अराजकतामा खेल्न माहिर ट्रम्पले विगतमा पनि नसोचिएका कुरालाई बहसको विषय बनाएर यथार्थमा परिणत गरेको इतिहास छ । ‘हामीले उनलाई गम्भीरतापूर्वक लिनुपर्छ । यदि उनले कोपनहेगन गएर ग्रिनल्यान्ड किन्न १० खर्ब(१ ट्रिलियन) डलरको चेक दिए भने सम्भवतः डेनिसहरू टापु बेच्न तयार हुन पनि सक्छन् । के थाहा ? ’ प्रजातन्त्र पक्षधर गठबन्धन जोइनदयुनियनडट युएसकी अध्यक्ष रिड ग्यालेनले भने । यसैबिच, ट्रम्पले पानामामाथि पनि नजर लगाएका छन् । उनले सो नहर हुँदै चल्ने अमेरिकी जहाजमाथि अनुचित भन्सार शुल्क लिइएको भन्दै त्यसको आलोचना मात्र गरेनन् । पानामा नहरको स्वामित्व वासिङटनकै हातमा फिर्ता गर्ने धम्कीसमेत दिए । ट्रम्पले गत आइतबार(डिसेम्बर २२ मा) पानामाको सरकार अमेरिकी जहाजमाथि लगाइएका शुल्क हटाउन सहमत भएन भने ‘हामी नहर अमेरिकाको स्वामित्वमा फिर्ता गर्न माग गर्नेछौँ, त्यो पनि पूर्ण रूपमा, तत्काल र विना कुनै प्रश्न ।’ उनले नहरवरिपर चीनको प्रभाव बढेको पनि संकेत गरे ।

पानामा नहर सन् १९१४ मा अमेरिकाले आन्द्र महासागर र प्रशान्त महासागरलाई जोड्नका लागि बनाएको थियो । सन् १९७७ मा एक सम्झौताअनुरूप पानामा नहरको स्वामित्व त्यहीँको सरकारलाई फिर्ता गर्नुअघि यो अमेरिकी नियन्त्रणमा थियो । पानामाका राष्ट्रपति जोसे राउल मुलिनोले ट्रम्पको धम्कीलाई खारेज गर्दै नहरको ‘हरेक वर्ग मिटर’ पानामा सरकारको भएको बताए । मुनिनोको भनाइको जवाफ दिँदै ट्रम्पले पुनः ट्रुथ सोसलमा लेखे : ‘त्यसो हो भने हामी हेर्छौँ !’ पहिले यी दुई कूटनीतिक विवाद पर्याप्त नभएझैँ ट्रम्पले पटक–पटक छिमेकी क्यानडालाई चिडियाइरहेका छन् । उनले क्यानडालाई अमेरिकाको ५१औँ अमेरिकी राज्य बनाउने भन्दै त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई उपहासपूर्वक ‘गभर्नर’ सम्बोधन गरिहेका छन् । खासमा, अमेरिकाका ५० राज्यहरूमा शीर्ष निर्वाचित अधिकारीहरूलाई ‘गभर्नर’ भनी सम्बोधन गरिन्छ ।

ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा पनि यस्ता धेरै हचुवा दाबी गरेका थिए, जुन पछि त्यसै सेलाएर गए । उनले अमेरिकातर्फ बढिरहेका समुद्री आँधीमा आणविक बम हान्नेदेखि र कोभिड संक्रमित ‘ब्लिच’को सुईले ठिक हुनेसम्म दाबी गरेका थिए । तर, यसपटक ट्रम्प पहिलेभन्दा बढी साहसी, थप संगठित देखिन्छन् । पछिल्लो दाबी ट्रम्पले सोचिसम्झी दिएजस्तो देखिन्छ । उनले शक्ति र दबाब कहाँ दिँदा बढी प्रभावकारी हुन्छ भन्ने बुझिसकेका छन् । साथै, उनले आफूलाई पहिलेको तुलनामा आफूप्रति बफादारले घेरेका छन् । अघिल्लो कार्यकालमा उनले ग्रिनल्यान्ड खरिद गरेमा घरजग्गा कारबोरलाई फाइदा हुने बताएका थिए । यसपटक उनी राष्ट्रिय सुरक्षाको मुद्दालाई उद्धृत गर्दै छन् । आखिर अमेरिकाको संसद्लाई राष्ट्रिय मुद्दाको विषयले बढी तान्छ ।

ट्रम्पले क्यानडा, डेनमार्क वा पनामाविरुद्ध युद्ध घोषणा गर्लान् भन्नेमा विज्ञहरू विश्वास गर्दैनन् । तर, उनले सहयोगी देशमाथि दबाब सिर्जना गरेर झिनामसिना जित हासिल गर्ने विचार गरेको हुनसक्ने तिनको विश्लेषण छ । मित्रप्रतिको कठोर व्यवहार गर्ने ट्रम्प रुसका भ्लादिमिर पुटिनलगायतका निरंकुश नेताहरूको भने बारम्बार प्रशंसा गर्छन् । पुटिनले पनि सन् २०२२ मा छिमेकी युक्रेनबाट भूमि हत्याउन सो मुलुकमाथि आक्रमण गरेका छन् । अरू देशको भूमि कब्जालाई ‘१९औँ शताब्दी’मा साम्राज्यवादी मुलुकबिच चल्ने ‘ग्रेट गेट’को डरलाग्दो झझल्कोको रूपमा हेरिएको छ । बाराक ओबामाको शासनकालमा ह्वाइट हाउसका वैश्विक सहकार्य निर्देशक रहेका ब्रेट ब्रुयन यस्तै मान्छन् । ‘२१औँ शताब्दीमा पनि हामी अझै बल प्रयोग गरेर वा दबाब दिएर अन्य देशको भूभाग खोस्ने शक्तिको चर्चा गरिरहनुपरेको छ । पुटिनले युक्रेन कब्जा गर्न खोजेको उदाहरण हामीसँग ताजै छ । उता, चीनले दक्षिण चीन सागरको ठुलो भूभाग कब्जा गर्न खोजिरहेछ ,’ बु्रयनले भने ।

हाल सार्वजनिक मामिलासम्बन्धी एजेन्सी ‘ग्लोबल सिचुएसन रुम’का अध्यक्षले थपे ब्रुयनले भने, ‘अब हामीमाझ ट्रम्प आएका छन्, जो ग्रिनल्यान्ड र पानामा दुवैलाई तिनको इच्छाविपरीत हातमा लिन खोजिरहेका छन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय स्थिरताका आधारभूत सिद्धान्तको उल्लंघन गर्दछ । यस्तो धम्कीले मात्र पनि संकटको नयाँ ‘पान्डोरा बक्स’ खोल्छ, जसलाई नियन्त्रण गर्न सम्भव हुँदैन । किनकि ट्रम्पले अन्य देशलाई धम्की दिन सक्छन् भने टर्कीका रिसेप तैयिप एर्दोगानले पनि त्यस्तै धम्की देलान् । साउदी अरबका मोहम्मद बिन सलमान र अरू कठोर नेता पनि त्यही लाइनमा लाग्छन् ।’

पानामाप्रति ट्रम्पको आक्रोश र समाचारमा आएअनुसार मेक्सिकोको ‘नरम अतिक्रमण’ गर्ने योजनाले (जसअन्तर्गत ड्रग्स कार्टेलविरुद्ध मेक्सिकोभित्रै पसेर कारबाही गर्ने विशेष सैन्य बल वा ड्रोन प्रयोगको चर्चा छ) ल्याटिन अमेरिकी नेताहरूमा अमेरिकाको तिनका क्षेत्रमा गरेको हस्तक्षेपको पुरानो सम्झना ताजा गराउन सक्छ । जवाफमा उनीहरू थप चीनतर्फ नजिकिन सक्छन् । सन् १९७३ मा अमेरिकाले प्रजातान्त्रिक रूपमा निर्वाचित चिलीका तत्कालीन समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेविरुद्ध सैन्य ‘कु’ गर्न त्यहाँको सेनालाई उक्सायो ।

सन् १९८९ मा अमेरिकाले लागुऔषध तस्करीको आरोप लागेका सैन्य तानाशाह म्यानुएल नोरिगालाई सत्ताच्युत गर्न पानामामाथि आक्रमण नै ग¥यो । राष्ट्रपति जर्ज एचडब्लु बुस (सिनियर बुस)ले राष्ट्रलाई सम्बोधन गर्दै यस आक्रमणको उद्देश्य अमेरिकी जीवनको रक्षा गर्ने, प्रजातन्त्र पुनस्र्थापना, नोरिगालाई न्यायको कठघरामा उभ्याउने रहेको बताएका थिए । साथै, सन् १९९९ मा पानामा सरकारले नहर पूर्ण नियन्त्रण लिनुअघि ‘पानामा नहरसँग सम्बन्धित सन्धिको अखण्डता सुनिश्चित गर्नुपर्ने भएकाले’ आक्रमण गरेको पनि अमेरिकाको तर्क थियो ।

विगतमा ट्रम्पले अमेरिकाको बाह्य हस्तक्षेपको कटु आलोचना गर्थे । त्यसैले उनको आकस्मिक विस्तारवादी अडानले धेरैलाई अचम्मित बनाएको छ । उनले भियतनाम युद्धको समयमा धेरैपटक सेनामा भर्ती हुन ढिलाइ गर्ने अनुमति लिएको पाइएको छ । उनी सन् २००३ मा जर्ज डब्लु बुस इराक आक्रमणविरुद्ध उभिएका थिए । त्यस्तै, ट्रम्पले बारम्बार आफूले पहिलो कार्यकालमा अमेरिकालाई कुनै नयाँ युद्धमा नतानेकोमा गर्व गर्ने गर्छन् । उनको ‘अमेरिका पहिलो’ नीतिले अमेरिका अन्य देशको मामिलामा फस्न नहुने अडान लिन्छ ।

तर, मिनेसोटा विश्वविद्यालयअन्तर्गतको ‘सेन्टर फर द स्टडी अफ पोलिटिक्स एन्ड गभर्नेन्स’का निर्देशक ल्यारी ज्याकब्सले भने ट्रम्पको पछिल्ला भनाइमा राष्ट्रपति रिचर्ड निक्सनको ‘पागलको सिद्धान्त’को प्रतिध्वनि पाएका छन्् । यस सिद्धान्तअनुसार विभिन्न तर्कहीन कुरा गरेर प्रतिद्वन्द्वीलाई अन्योल र रक्षात्मक अवस्थामा राखिन्छ । ‘ट्रम्प एकपछि अर्को अपमानजनक र असम्भव धम्की दिइरहेका छन् । हामी ग्रिनल्यान्ड किन्दै छौँ ? ग्रिनल्यान्ड एक सार्वभौम भूमि भएकाले यसको खरिद–बिक्री हुने कुरै उठ्दैन । त्यसैले यो दाबी हास्यास्पद छ । अनि पानामा नहरको विषय त दशकौँ पहिले सल्टिसकेको विषय हो । तर, यी मुद्दा उठाएर यथास्थितिलाई बिथोल्ने र आफ्नो सरकारको बार्गेनिङ स्थिति सुधार्ने ट्रम्पको रणनीति हो । यो अराजकतासँग खेल्ने रणनीति हो, जसले अस्थिरतामा विश्वास गर्छ । तर, विश्वको सबैभन्दा शक्तिशाली पदमा पागलव्यक्ति रणनीति लागू गर्नु खतरनाक हुन सक्छ,’ ज्याकब्सले भने ।

– द गार्जियनबाट
(स्मिथ गार्जियनका वासिङटन डिसी ब्युरो प्रमुख हुन् )