मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Thursday, 26 December, 2024
२o८१ पौष १० बुधबार १९:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद

बागमती प्रदेश लिग फुटबल प्रतियोगिताः काठमाडौंको विजय सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १९:२९:oo

हेटौँडामा बुधबार सुरु भएको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंले विजय सुरुवात गरेको छ । दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लबले काभ्रेपलाञ्चाेकको माउन्ट एभरेस्ट फुटबल क्लबलाई हराउँदै विजय सुरुवात गरेको हो । 

हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा माउन्ट एभरेस्ट फुटबल क्लबलाई चित्लाङ फुटबल क्लबले ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । काठमाडौंको जितमा अंकित रासकोटीले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफको १५ औँ र २० औं मिनेटमा दुई गोल गरेका थिए भने दोस्रो हाफको ४०औँ मिनेटमा थप एक गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भएका रासकोटीले ट्रफीसहित नगद तीन हजार रुपैयाँको प्राप्त गरेका छन् । यो जितसँगै काठमाडौंको टिमले ३ अंक जोड्न सफल भएको छ ।

समूह चरणको दोस्रो खेलमा काठमाडौंले चितवन जिल्लाको टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने काभ्रेपलाञ्चाेकले पनि चितवनसँगै प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगिताअन्तर्गत बिहीबार समूह चरणको दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा दिउँसो १२ः३० बजे नुवाकोट र दोलखाबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा भक्तपुर र सिन्धुलीबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फामा आबद्ध भएका ११ जिल्लाका फुटबल संघको सहभागिता छ । रामेछाप र रसुवा एन्फामा आबद्ध नभएको कारणले सहभागी छैनन् । एन्फाको प्रयोग सहयोगमा सञ्चालन भएको प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौँडा उपमहानगरपालिकाको सहयोग रहनेछ ।

प्रतियोगिताको फाइनल खेल २० पुसमा हुनेछ ।  प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाखसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच र विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।