मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १० बुधबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष १० बुधबार १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीका पहाडी जिल्लालाई कफी हब बनाउन छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १० बुधबार १६:५५:oo

लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाई कफीको हबको रूपमा विकास गर्न पहल सुरु गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफी विकास कार्यालय, स्थानीय जनप्रतिनिधि तथा किसानहरूसँग प्रदेशका पहाडी जिल्लाहरूमा कफीखेतीको सम्भावना धेरै भएकाले कफी हब बनाउनेबारे बुधबार  छलफल गरिएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतलगायतले सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मा, उपाध्यक्ष वसन्ता खड्का, कफी विकास बाेर्डका प्रमुख चन्द्रप्रकाश बस्नेत र स्थानीय किसानसँग छलफल गरेका हुन् ।

पहाडी जिल्लाहरूमा कफी खेतीको सम्भावना रहेको र प्रदेश सरकारले यसका लागि पहल लिने कृषिमन्त्री दिनेश पन्थीले बताए। ‘योजना निर्माण गरेर कफीखेतीलाई विस्तार गरेर जानुपर्ने आवश्यकता छ,’ मन्त्री पन्थीले भने, ‘पहाडी जिल्लाहरूमा कफीखेतीको सम्भावना, बजार र किसानहरूको जीवनस्तर उठाउनेबारे सरकारले ध्यान दिन्छ ।’

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार राउतले  कफीखेतीलाई लुम्बिनी प्रदेशका जिल्लाहरूमा विस्तार गर्नबारे छलफल सकारात्मक भएको बताए । कफीखेतीबाट किसानले राम्रो आम्दानी लिन सक्ने, यसको उत्पादन बढाउन सके अन्तर्राष्ट्रिय बजार पनि राम्रो भएकाले यसमा किसानलाई अनिवार्य जोड्नेबारेमा पहल गरिएको बताइएको छ ।

सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले आफ्नो पालिका दलहनबाली र मह उत्पादनको हबको रूपमा रहेको र अझ गुणस्तरीय उत्पादनका लागि प्रदेश सरकारको साथ सहयोग चाहिएको बताए।