बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाबाट इलाका प्रहरी कार्यालय सिम्रौनगढले मंगलबार साँझ एउटा भारतीय कारसहित ठुलो परिमाणको लागुऔषध गाँजा नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी अमृतगन्जका प्रहरी सहायक निरीक्षक मनोज यादवको कमाण्डमा सादा पोसाकमा खटिएको गस्ती टोलीले ४३ केजी गाँजासहित एउटा भारतीय नम्बर प्लेटको कार प्रहरीले हिजो बेलुकी ८ बजे नियन्त्रणमा लिएको हो ।
जिल्लाको सुवर्ण गाउँपालिकाको तेलकुवाबाट सिम्रौनगढतर्फ आउँदै गरेको बिआरओ जिरो वन ए यू ११०७ नम्बरको कार चेक जाँच गर्ने क्रममा प्रहरीले सो कारभित्र प्लास्टिकले बेरेर पाँचवटा प्याकेटमा राखिएको अवस्थामा ४३ किलोग्राम लागुऔषध गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका निरीक्षक नवीन राईले जानकारी दिए ।
प्रहरीलाई देखेपछि कारचालक भने फरार बनेको प्रहरीले जनाएको छ । बरामद गाँजा इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर फरार कारचालकको खोतलास भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए ।