मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ९ मंगलबार २o:२१:oo
Read Time : < 1 मिनेट
अर्थ

माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार २o:२१:oo

माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत ११ र १२ असोजको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरूको आंशिक मर्मतसम्भारपछि मंगलबार साँझदेखि पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत गृहको क्षमता ४५६ मेगावाट विद्युत् उत्पादन छ । 

तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि ११ असोज साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । १२ असोजको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो । 

गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो । 

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समय तालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । 

जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले १८ मंसिरमा स्थलगत अनुमगन गरी १० पुसभित्र मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।