मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष ९ मंगलबार १९:२३:oo
Read Time : < 1 मिनेट
समाचार

विपत् प्रभावित सडक पुनर्निर्माणका लागि रकम निकासा गर्न प्रदेश सरकारको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १९:२३:oo

बागमती प्रदेश सरकारले विपत् प्रभावित सडकहरू पुननिर्माणका लागि रकम निकास गर्न निर्देशन दिएको छ। प्रदेश सरकारको विपत् कार्यकारी समितिको मंगलबार बसेको बैठकले विपत् प्रभावित प्रदेश लोकमार्ग र प्रदेश मार्गहरू पुनर्निर्माणका लागि रकम उपलब्ध गराउन निर्देशन दिएको हो।

बैठकमा गत ११ असोजदेखि परेको वर्षाको कारण क्षति भएको काठमाडौं र हेटौँडा जोड्ने प्रदेश सडकलगायतका सडक पुनर्निर्माणबारे छलफल भएकाे थियाे। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले प्रदेशअन्तर्गतका लोकमार्गसहित विभिन्न महत्त्वपूर्ण सडक तथा पुल मर्मतका लागि सम्बन्धित कार्यालयहरूबाट माग भएअनुसारको रकम निकासा गर्न निर्देशन दिएको हो।

उनका अनुसार विपत् प्रभावित सडकहरू तत्कालका लागि केही मर्मत गरी सञ्चालनमा ल्याए पनि पुनर्निर्माणका लागि कार्यालयहरूले थप बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत आग्रह भएकाले हेटौँडा–काठमाडौं जोड्ने तथा अन्य महत्त्वपूर्ण सडकको हकमा बजेट शीर्षक कायम गरी अर्थ विविधबाट रकम प्रदान गर्न निर्देशन दिएको हो।

उक्त निर्देशनअनुसार प्रदेश विपत् कार्यकारी परिषद्बाट निर्णय गराई मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गर्ने र मन्त्रिपरिषद्को निर्णयका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट बजेट व्यवस्था गर्ने गरी निर्देशन भएको उनको भनाइ छ।

भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केले विपत् प्रभावित सडकहरू पुनर्निर्माणका लागि तत्काल १५ करोड २५ लाख माग गरेको जानकारी दिए। उनले उक्त रकमले तत्काल विपत् प्रभावित सडकहरूको मर्मत सुरु गर्ने र आगामी आर्थिक वर्षको बजेटमा थप रकम व्यवस्था गरेर प्रादेशिक सडकहरू मर्मतको काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए।

गत असोजको विपद्बाट सडक पुल तथा अन्य संरचनामा दुई अर्बभन्दा बढीको क्षति पुगेको मन्त्रालयको तथ्यांक रहेको छ। विपत् कार्यकारी समितिको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपत् व्यवस्थापन शीर्षकमा रहेको २५ लाख बजेट प्रदेश विपत् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ।