मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Wednesday, 25 December, 2024
२o८१ पौष ९ मंगलबार १७:४६:oo
Read Time : > 1 मिनेट
प्रदेश

लुम्बिनीमा पाँच महिनासम्म पनि मन्त्रिपरिषद् अपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १७:४६:oo

लुम्बिनीमा मुख्यमन्त्री चेतनारायण आचार्यले  प्रदेश सरकारको नेतृत्व समालेको पाँच महिना पूरा भएको छ । पाँच महिना बितिसक्दा पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

गत ७ साउनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ९ साउनमा  शपथ तथा पदभार ग्रहण गरेका थिए ।  सोही दिन मन्त्रीहरू भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारू,  सीता शर्मा, बादशाह कुर्मी, सरोज थापा, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपानेद्वारा शपथ लिएका थिए । कांग्रेसबाट पाँचजना मन्त्री बनाउने सहमति भए पनि कांग्रेसले सुरुमा चारजनालाई मात्रै पठाएको थियो । ती चारजनामध्ये पछि विवादमा परेका कुर्मीले राजीनामा दिएका थिए ।

बाँकेकी निर्मला कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीले राजीनामा दिएपछि कांग्रेसको कोटाका दुईजना मन्त्री गत ७ कात्तिकमा थपिएका थिए । बर्दियाका  जन्मजय तिमिल्सिना, पश्चिम नवलपरासीका देवकरण कलवार मन्त्री भएका थिए ।  तिमिल्सिनालाई सामाजिक विकास मन्त्रालय,  कलवारलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । सोही दिन बाँकेका आदेशकुमार अग्रवाल पनि मन्त्रीमा थपिएका थिए । जसपाका अग्रवाललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

यहाँ कांग्रेस र एमालेबाट ५-५ जना मन्त्री बन्ने र साना दलबाट दुईजनालाई मन्त्री बनाउने सहमति नयाँ सत्तासमीकरणसँगै भएको थियो । सोही सहमतिअनुसार कांग्रेस-एमालेबाट ५-५ जना मन्त्री बने । साना दलमध्ये जसपाबाट एकजना मन्त्री बने । तर, साना दलबाट थप एकजना मन्त्री बनाउने सहमति अझै कार्यान्वयन हुन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

सरकारलाई समर्थन गरेका दललाई मन्त्री थमाउने र आलोपालो गराएर भए पनि सर्मथन गर्ने दललाई भाग पुर्याउने बताइए पनि पाँच महिनासम्म एउटा मन्त्रालय मन्त्रीविहीन छ। यहाँ युवा तथा खेलकुदमन्त्रीको नियुक्ति अझै हुन नसकेको हो । अब लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एकजना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अझै अधुरो छ ।

प्रदेश सरकारका प्रवक्ता कृषि तथा भूमि व्यवस्थामन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताए। मुख्यमन्त्री आचार्यले ४ भदौमा विश्वासको मत लिएका थिए । उनी एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा नियुक्त भएका थिए । उनलाई ७० जना प्रदेश सभा सदस्यले विश्वासको मत प्रदान गरेका थिए ।