कुनै कम्पनीको नाम नतोकी औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन स्वास्थ्य मन्त्रालयले सुझाव दिनका लागि जेनेरिक औषधि सुझाव समिति गठन गरेको छ । उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउनका लागि कम्पनीको नाम नतोकी सीधै जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गर्नका लागि तयारी थालेको मन्त्रालयले जनाएको हो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा पाँचसदस्यीय सुझाव समिति गठन भएको हो । समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य छन् । गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको छ ।
समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधिको सिफारिस गर्नुपर्दा अनिवार्य रूपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । यस्तै, अन्य अस्पतालहरूमा जेनेरिक औषधिको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत भनिएको छ ।
समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझाव दिन र समितिबाट प्राप्त सुझावका आधारमा निर्णय गरिने मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिएका हुन्। ऐनमा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधिको सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्ने उल्लेख गरिएको छ। तर, चिकित्सकहरूले आफूखुसी औषधिको ब्रान्डको नाम लेख्ने गरेका छन् ।