कैलालीको धनगढीमा मंगलबारबाट बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको पर्यटनसँगै शिक्षा, मसलन्द तथा छपाइ व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रर्वद्धनमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कैलालीले महोत्सव आयोजना गरेको हो।
महोत्सवमा मसलन्द सामग्री, पुस्तक, प्रकाशक, स्टेसनरी वितरक, शैक्षिक संस्था, शिक्षासँग सम्बन्धित निकायका गरी करिब सयवटा स्टल राखिएको संघका जिल्ला अध्यक्ष भीम पडालले जानकारी दिए।
राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले यस क्षेत्रको शैक्षिक, आर्थिक एवं सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने आशा लिएको उनले बताए। महोत्सवलाई करिब दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपैयाँबराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा विभिन्न पुस्तक तथा सामग्रीहरू सहुलियत मूल्यमा खरिद गर्न सकिने संघले जनाएको छ।
पुस्तक प्रदर्शनीसँगै महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिता, रमाइलो मेला तथा मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन्। महोत्सव १५ पुससम्म सञ्चालन हुनेछ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको प्रवर्द्धन तथा सम्बन्धित जिल्लाका संघको आयोजनामा राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै आएको छ। धनगढीमा १४ वर्षपछि प्रदर्शनी गरिएको संघका अध्यक्ष पडालले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदर्शनीको उद्घाटन गरेका थिए। उनले पुस्तक प्रदर्शनी मेलाले पठन संस्कृतिको विकास तथा व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने बताए।