मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ९ मंगलबार
  • Tuesday, 24 December, 2024
२o८१ पौष ९ मंगलबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दूषित मह बिक्री गरेको अभियोगमा १६ भारतीयविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ९ मंगलबार १६:oo:oo

दूषित मह बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले १६ भारतीय नागरिकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। १५ जनाविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार र नाबालक भएकाले एकजनाविरुद्ध बालबालिकासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

प्रहरीले कैलालीको टीकापुरस्थित एक होटेलबाट उनीहरूलाई गत १६ मंसिरमा ९४७ किलो महसहित पक्राउ गरेको थियो। मिसावटयुक्त मह बिक्री गरेर ठगी गरिरहेको गुनासोका आधारमा टीकापुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

बरामद महको नमुना परीक्षण गर्दा दूषित देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकारी एवं सूचना अधिकारी सुमन लामिछानेले जानकारी दिए। ‘परीक्षण गर्दा मह प्रदूषित र स्वास्थ्यमा हानि हुने पुष्टि भएपछि मुद्दा दर्ता गरेका हौँ,’ उनले भने।

महमा मानिसको स्वास्थ्यलाई हानि हुने रसायन मिसावट गरिएको देखिएको लामिछानेले बताए।

त्यस्तै, खाद्यले चालू आर्थिक वर्षको हालसम्म उपभोग्य अवधि नभएको, कमसल सामान बिक्री गर्ने तथा अनुमति नलिएर उद्योग सञ्चालन गर्ने आठवटा फर्म तथा व्यक्तिविरुद्ध कारबाही अगाडि बढाएको सूचना अधिकारी लामिछानेले जानकारी दिए।