बागमती बोर्डिङ सेकेन्डरी स्कुलमा नवौँ विज्ञान तथा प्रविधि प्रदर्शनी तथा फन कार्निभल सम्पन्न भएको छ। ‘अ फ्युजन अफ फन एन्ड एनोभेसन’ नाराका साथ सम्पन्न भएको प्रदर्शनीको उद्घाटन काठमाडाैं महानगरपालिका शिक्षा विभागका अधिकृत नेत्रनारायण पौडेलले गरेका थिए।
कार्यक्रममा रोबोटिक्सका ४०, विज्ञान र प्रविधिसँग सम्बन्धित ७०, गणित विषयसँग सम्बन्धित १० र सामाजिक अध्ययनसँग सम्बन्धित आठवटा परियोजना प्रदर्शन गरिएका थिए।
प्रदर्शनीमा तीनदेखि १२ कक्षासम्मका विद्यार्थीले तयार पारेका परियोजनाहरू समावेश थिए। प्रदर्शनीको उद्घाटन पौडेलले विद्यार्थीले बनाएको ड्रोन उडाएर गरेका थिए। ड्रोनसहित रोबो रेस, रोबो सकर, रोबो सेन्सर, इन्टरनेट अफ थिङ्स, फायर फाइटिङ, वाटर लेभल इन्डिकेटर, स्मार्ट डस्टबिन कार्यक्रमका आकर्षक परियोजना थिए।
विद्यार्थीले तयार पारेका साइन्स र गणितका इनोभेटिभ परियोजनाका साथै सामाजिक अध्ययनका परम्परागत औजार प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीसँगै फन कार्निभल पनि सञ्चालन गरिएको थियो। कुमाले चक्रबाट आफैँले भाँडा बनाउन पाउँदा ससाना बालबालिका खुब रमाएका थिए। विद्यार्थी आफैँले फुड स्टलसमेत सञ्चालन गरेका थिए।
कार्यक्रममा विशेष अतिथि नेत्रनारायण पौडेल र काठमाडौं महानगरपालिकाका मेयरको सचिवालय सदस्य सस्मित पोखरेलले महानगरपालिकाको बुक–फ्री फ्राइडेको अवधारणाअनुरूप विद्यालयले विद्यार्थीमा खेल्दै, रमाउँदै आफैँले केही सिर्जना गर्ने वातावरण निर्माण गर्न खेलेको भूमिकाको प्रशंसा गरे।
कार्यक्रम विद्यालयका संस्थापक डा. सुरेन्द्र सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। आजको युग विज्ञान, प्रविधि र विशेष गरी एआईको युग भएकाले विद्यालयमा कोडिङ र रोबोटिक्सका कक्षा सञ्चालन गरिएको डा. सिटौलाले जानकारी दिए।
स्टिम ल्याबको स्थापना गरी परम्परागत सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक र व्यावहारिक ज्ञानका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाइएको र त्यसका लागि स्मार्ट बोर्डका साथै थ्रिडी प्रिन्टरको व्यवस्थासमेत गरिएको विद्यालयका प्रधानाध्यापक श्यामदत्त अधिकारीले बताए।